जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अझै गोलीका छर्रा

रिता घिसिंग

पौष २२, बागलुङ : जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन्। गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे। ताराखोला गाउँपालिका-५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए।

उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उनमा दुखाइको समस्या ठिक भएको छैन। “सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उनले भने, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उनको प्राथमिक उपचार गरेको थियो।

पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताए। उनले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ। जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ।

पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौँ आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए। घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बनेका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए। अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन्।

नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ। द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनको आरोप छ। आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने सोच उनको छ।

जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ। उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छन्। आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन्। कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिएका उनले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए। “गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उनले भने, “सबैले पाउँदा उनको कसरी छुट्यो हामी पनि अनविज्ञ छौँ।” रासस

प्रतिक्रिया