डा केसीको सबै माग पूरा :स्वास्थ्य राज्यमन्त्री यादव

admin

काठमाडौँ, ६ माघ: स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा गोविन्द केसीको सबै माग पूरा भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले थप्नुभयो, “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन प्राप्त हुन नसकेकाले नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश जान बाध्य भएको र त्यहाँका कालोसूचीमा परेका कलेजबाट ठगिने गरेको उहाँले बताउनुभयो । हाल नेपालबाट चिकित्सा शिक्षा पढ्न ५८८ विद्यार्थी विदेश गएका छन् । उनीहरुबाट प्रतिव्यक्ति रु २० लाखका दरले रकम बाहिरिएको राज्यमन्त्री यादवको भनाइ थियो ।

नेकपाका नेता डा वंशीधर मिश्रले डा केसीका कारण नेपालमा गुणस्तरीय मेडिकल कलेज खुल्ने वातावरण नहुँदा बङ्गलादेशमा कालोसूचीमा रहेका मेडिकल कलेजमा पढ्न विद्यार्थी बाध्य भएको बताउनुभयो । उहाँले डा केसीको ९९ प्रतिशत माग पूरा भइसकेको बताउनुभयो । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले डा केसीको माग पूरा नगरेर स्वास्थ्यसम्बन्धी समस्या सरकार स्वयंले उत्पन्न गरेको बताउनुभयो । उहाँले यो समस्या समाधानको पोको सरकारसँग रहेकाले सरकार लचिलो भई केसीसँगको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
-रासस

प्रतिक्रिया