प्रहरी निरीक्षक दम्पतीको सम्झनामा राधाकृष्ण मन्दिर

admin

रुकुम (पूर्व), ७ माघ: नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती हुनुहुन्थ्यो । उहाँहरु दुवै प्रहरी निरीक्षक हुनुहुन्थ्यो । सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको निधन भएको थियो । विसं २०७० चैत ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नवीन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भई सुर्खेतमा आउनुभएको थियो ।

विसं २०६९ साउन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भएकी अनिता इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गर्नुभएको थियो । विसं २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भई सङ्घीय प्रहरी एकाइ कार्यालय चन्द्रगढी झापामा कार्यरत अनिता केही समयका लागि काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुनुहुन्थ्यो । प्रहरी तालीम केन्द्र काठमाडौँमा २०७४ साउनमा भएको प्रहरी निरीक्षकको तालीममा दुवै जनाको भेट भएको थियो । यो भेटघाट सहकर्मी, मिल्ने साथी हँुदै जीवनसाथीमा परिणत हुन पुग्यो । उहाँहरुको २०७४ मङ्सिर ५ गते सुनसरीको इटहरीमा विवाह सम्पन्न भयो । त्यसको भालिपल्ट बिहान इटहरीबाट हिँडेको त्यो जोडी ७ गते साँझ रुकुम (पूर्व) घरमा पुग्यो ।

नवीन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरिवार र छरछिमेकको खुशीको सीमा थिएन । सबै जनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए । कोही स्वागत सत्कारमा लागिरहेका थिए । त्यहाँ उपस्थित भएका सबै जनाले नवीन र अनिताको जोडीलाई राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारिफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो । उताबाट प्रदेश र सङ्घको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उहाँहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो । २०७४ मङ्सिर ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त हुनुभएका नवीन र अनिताले त्यसै दिन अपराह्न ४ बजे आआफ्नो कार्यक्षेत्रका लागि यात्रा तय गर्नुभयो ।

साँझकोे ७ बजेको थियो । घरबाट खुशीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा जीप दुर्घटनामा परी उहाँहरुको मृत्यु भयो । उक्त दुर्घटनामा उहाँहरुलगायत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परिवारका नै हुनुहुन्थ्यो । एक्कासी सबै खुशी शोकमा परिणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारिरहेको आवास गरे । यस घटनाले रुकुम (पूर्व) मात्र होइन, पूरै देश नै शोकमा डुब्यो । बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पती मात्र नभई दुई÷दुई जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो, देशले । भर्खरै विवाह गरेका नव जोडीका र घरपरिवारका सारा सपना र खुशी एकै पलमा खोसिए । सुन्दाखेरी सपना जस्तै अपत्यारिलो लाग्ने त्यो घटना सबैले स्वीकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महीनाँैसम्म सबैको मनमुटु हल्लाइरह्यो । त्यस्तो अवस्थामा यस घटनाले परिवारमा के बितिरहेको छ भनेर त हामी सजिलै कल्पना गर्न सक्छौँ ।

अहिले उहाँहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उहाँँहरुकै सम्झनामा परिवारले सिस्ने गाउँपालिका– ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परिवारद्वारा निर्मित उक्त मन्दिरमा आज र भोलि धार्मिक अनुष्ठानका कार्यक्रम हुने बताइएको छ । नवीन श्रेष्ठका बुबा टेकबहादुर श्रेष्ठका अनुसार राधाकृष्ण मन्दिरमा मूल घरबाट मन्दिरसम्मको बाजागाजा भजन कीर्तन, स्वस्तीशान्तिसहित राधाकृष्णको रथयात्रा गरिने छ । धार्मिक प्रवचनसहित भजनकृतन र लाखबत्ति प्रज्वलनलगायत भक्तजनबाट राधाकृष्णको दर्शन र पूजाको काम हुनेछ । उहाँले भन्नुभयो, “मन्दिर मात्र होइन, छोरा बुहारीको सम्झनामा उनीहरुको सालिक पनि बनाएका छौँ, रु नौ लाख ५० हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हाँै ।”

यस मन्दिरमा दैनिक पूजापाठका लागि मासिक तलबको व्यवस्था गरी एक जना पुरोहित पनि राख्ने उहाँले बताउनुभयो । “भक्तजनका लागि यो मन्दिर सधैँ खुला रहने छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया