ल्होछार पर्वमा रम्दै तामाङ समुदाय

मनिषा थापा

हेटौँडा, २२ माघ : तामाङ जातिको बाहुल्यता रहेको मकवानपुर जिल्लामा आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाइएको छ । जिल्लाका प्रायः सबै गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् भने प्रदेश नं ३ सरकारले पनि प्रदेशमा बिदाको घोषणा गरेको छ ।

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउनुहुन्छ ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवान्को प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

ल्होछारको अवसरमा आज हेटौँडाको टिसिएन चौरमा महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा विभिन्न झाँकीसहित तामाङ जातिका परिकारहरु राखिएका छन् भने कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।

यसैबीच ल्होछारको अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ल्होछारको अवसरमा शुभकामना सन्देशमार्फत संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली तथा प्रदेशका जनताको सुख शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ । (रासस)

प्रतिक्रिया