वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फिर्ता

मनिषा थापा

काठमाडौँ, २२ माघ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनुभएको छ ।

लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते जानु भएका नेता नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेकपा र रिभोलुसनरी पार्टीका साथै दुबै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गर्नुभएको नेपालसँगै फर्कनुभएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार लाओसमा नेपाली प्रतिनिधिमण्डल ‘नेशनल एकेडेमी अफ पोलिटिकल एण्ड पब्लिक एडमिष्ट्रेशन’को कार्यक्रममा सहभागी भएको थियो ।

उक्त प्रतिनिधिमण्डलले ल्वाङ प्रोमाङ प्रदेशका सरकार र राजनीतिक दलसँग सरकार सञ्चालनबारे छलफल गर्नाका साथै नामजिमनाम हाइड्रोपावरसमेत अवलोकन गरेको थियो । गत सोमबार लाओ पार्टीका विदेशविभाग प्रमुख सुनथोङ सायादापसँग पनि नेता नेपालले भेटवार्ता गर्नुभएको केन्द्रीय सदस्य रिजालले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, केन्द्रय सदस्य रिजाल र अलि अख्तर सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया