जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउनु पर्छ : राष्ट्रपति भण्डारी

admin

चितवन, २१ माघ  : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ । आदिकवि भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव मूल समारोहको आज उद्घाटन गर्नुहुँदै उहाँले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सर्वत्र परिरहेको बताउनुभयो । 

उहाँले जलवायु परिवर्तनको सन्दर्भमा नदी प्रणालीलाई व्यवस्थित गरी जलावायु अनुकूलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस अवस्थामा यहाँका शैक्षिक संस्थाहरुले वातावरण संरक्षण र जैविक विविधता प्रवद्र्धन गर्ने शिक्षा प्रदान गर्न सके उत्पादित शैक्षिक जनशक्तिले स्थानीय रुपमा रोजगारी पाउँछ ।” 

 

शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको सन्देश दिने भएकाले शैक्षिक प्रतिष्ठानहरु यसमा संवेदनशील बन्नुपर्ने उहाँले बताउनुभयो । आगामी केही वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रबाट मध्यम आयभएको मुलुकको स्तरमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको भन्दै उहाँले गुणस्तरीय शिक्षाको आवश्यकता झनै खड्किएको बताउनुभयो । 

 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पछिल्लो समय विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । 

 

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारी, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा, समितिका सल्लाहकार शैलेन्द्र पियालगायतले बोल्नुभएको थियो । विसं २०२५ सालमा स्थापना भएको विद्यालयमा हाल एक हजार ४०० विद्यार्थी अध्ययनरत् छन् । विद्यालयले उच्च शिक्षामा प्राविधिक शिक्षासमेत पढाउँदै आएका छन् । 

 

प्रतिक्रिया