संस्कृति संरक्षणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

admin

लहान, २२ माघ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सबै जातजाति, वेशभूषा र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तामाङ जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारका अवसरमा सिरहाको गोलबजारमा आज आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशभित्रका सबै जातजाति, वेशभूषा र संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि योजना बनाइ रहेको बताउनुभयो ।

कुनै जाति, धर्म वा सांस्कृतिक पर्वमा एकदिन बिदा दिँदैमा विकास निर्माणमा बाधा नहुने भन्दै उहाँले देश विकासको मुख्य बाधक भ्रष्टाचार र ढिलासुस्ती तथा व्यभिचार भएकाले यसको अन्त्य जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले बनाएको प्रहरी ऐन तथा निजामती ऐनले महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरेको उल्लेख गर्नुहुँदै उहाँले अब छोरीले पढेर बेरोजगार भएर वस्न नपर्ने दावी गर्नुभयो ।

प्रदेश नं २ मा सबैभन्दा धेरै बढी दलित रहेको भन्दै दलित विद्यार्थीको लागि आवास र खानपिनको व्यवस्थासहितको उच्च शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको मुख्यमन्त्रीले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने सांस्कृतिक कार्यक्रममा वरिष्ठ कलाकार मनोज गजुरेल, बुद्ध लामा, राजेशपायल राई, सन्तोष लामालगायत कलाकारले आ–आफ्ना प्रस्तुती दिने कार्यक्रम रहेको ल्होसार मूल आयोजक समितिका अध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया