धार्मिक पर्यटन प्रवद्र्धन गर्न शैव परिपथ

रिता घिसिंग

काठमाडौँ, २३ माघ (रासस) : धार्मिक पर्यटन प्रवद्र्धन गर्न पशुपतिनाथ, गोकर्णेश्वर महादेव, शैलमतेश्वरलगायत ६४ शिवलिङ्गलाई जोडेर शैव परिपथ निर्माण गरिने घोषणा भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राचीनकालका मन्दिरमा नित्य पूजा आरतीको व्यवस्था एवं रामजानकी आधारभूत विद्यालयका लागि अक्षय कोष स्थापना गर्न आयोजित श्रीमद्भागवत उद्घाटनका अवसरमा यस्तो घोषणा गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका–१ बाटुलेचौरमा रहेको रक्तकाली, सरस्वती र सीताराम मन्दिर एवं श्री रामजानकी आधारभूत विद्यालयको सहयोगार्थ आजदेखि फागुन २ गतेसम्म महायज्ञ आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले पशुपतिनाथ एवं गोकर्णेश्वर महादेव मन्दिरका बीच सम्बन्ध बिस्तार गरिने बताउनुभयो । गोकर्णेश्वर नगरपालिका–१ मा स्थापना हुन लागेको बोलबम धाम निर्माणका लागि कोषले नक्सा ड्रइङ डिजाइनका प्राविधिक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले बोलबम धाम निर्माणका लागि नगर क्षेत्रको ४२ रोपनी सार्वजनिक जग्गा दिने घोषणा गर्नुभयो । मन्दिरमा नित्य पूजा आरती चलाउन एवं विद्यालयको स्तरोन्नतिका लागि जति सहयोग जुट्छ नगरपालिकाले त्यति नै थप गरी कोष स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि उहाँको थियो ।

विसं २०४९ मा स्थापना भएको विद्यालय सञ्चालनका लागि यसअघि २०५१ सालमा समेत महायज्ञ आयोजना गरी सहयोग जुटाइएको थियो । यहाँका तीनवटै मन्दिर प्राचीनकालकै भए पनि कहिले स्थापना भएको भन्ने विषयमा खोज अनुसन्धान भइरहेको प्रा डा ऋषिराम पोखरेलले बताउनुभयो ।

कक्षा ८ सम्म अध्ययन अध्यापन हुने सामुदायिक रामजानकी विद्यालयमा हाल विपन्न वर्गका १५० विद्यार्थी छन् । विपन्न वर्गका विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्न भौतिक पूर्वाधार र शिक्षण सामग्री जुटाउन महायज्ञबाट जम्मा भएको स्रोत परिचालन गरिने जनाइएको छ । अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क शिक्षा दिने लक्ष्य राखिएको छ ।

देश धर्म निरपेक्ष घोषणा भएपछि प्राचीन मठमन्दिरमा नित्य पूजा आरती सञ्चालनका लागि सरकारबाट सहयोग नआउने भएकाले स्रोतको व्यवस्थाका लागि महायज्ञ आयोजना गरिएको श्रीमद्भागवत महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष दामोदर खनालले राससलाई जानकारी दिनुभयो ।

स्कन्द पुराण, हिमवत्खण्डको नेपाल महात्म्यमा महत्वका साथ चर्चा गरिएको बूढानीलकण्ठ, श्वेतबराह, सुन्दरीमाई, शैलमतेश्वर, कागेश्वरी, रक्तकाली, गोकर्णेश्वर महादेव, साँखुस्थित माधवनारायण, बज्रयोसिगनी, शाली नदीलगायत धार्मिक स्थललाई जोडेर धार्मिक परिपथ निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । धार्मिक परिपथ निर्माणका लागि बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य नरोत्तम वैद्य र नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले पर्यटन प्रवद्र्धनका लागि धार्मिक स्थलको संरक्षण एवं प्राचीन महत्व उजागर गर्दै प्रचारप्रसार गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख सल्लाहकार एवं महायज्ञको आर्थिक समिति संयोजक दीपक रिसालले हालसम्म रु १६ लाख सहयोगको घोषणा भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा बोलबम काँवरिया सङ्घका संस्थापक अध्यक्ष छोटेलाल साह, महासचिव नरेन्द्र ठाकुर, समाजसेवी विष्णुदेवी पुडासैनीलगायत जनप्रतिनिधिले सरकारले मात्रै सबै काम गर्न नसक्ने भएकाले नागरिकको सहयोगमा धार्मिक एवं सामाजिक काममा सहयोग जुटाइनुपर्नेमा जोड दिनुभएको थियो ।

महायज्ञ सफल पार्न मूल समारोह समितिअन्तर्गत आर्थिक, लेखा, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सामान खरीद व्यवस्थापन, पानी बिजुली व्यवस्थापन, भान्सा व्यवस्थापन, प्रसाद वितरण, भण्डार व्यवस्थापन, स्वागत सत्कार, पूजा सामान व्यवस्थापन, सरसफाइ, अनुगमन र स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको प्रचारप्रसार समितिका सचिव सुशील सिम्खडाले बताउनुभयो ।

कार्यक्रम उद्घाटनअघि सुन्दरीजलस्थित गणेशस्थान मन्दिर नजिकैको वाग्मती नदीबाट पवित्र जल लिइ बिपी चोक–नयाँपाटी–गरडोल हुँदै बाटुलेचौरस्थित विद्यालय प्राङ्गणमा पुगेको थियो । कलश यात्रामा ५०० बढी महिला र विद्यार्थीको सहभागिता थियो । महायज्ञमा पण्डित नवराज भट्टराईले भक्ति सङ्गीतमय कथा वाचन गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया