व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्नु ठीक हैन: महानिर्देशक घिमिरे

admin

खोटाङ, २९ माघ: सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताउनुभएको छ । 

दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालीम समापनमा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको बताउनुभयो । नेपाली पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा र ‘हुवहु’को समस्या बढी देखिएको उहाँको भनाइ थियो । 

 

पत्रकार बीमा कार्यक्रममा न्यून पत्रकारको सहभागिता रहेकाले सबैलाई बीमा गर्न उहाँले आह्वान गर्नुभयो । जिल्लामा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले यहाँ तीनदिने तालीम सञ्चालन गरेको हो । दुर्गममा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभागले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा तालीम सञ्चालन गरेको हो । तालीममा बीस पत्रकार सहभागी थिए । 

-रासस

प्रतिक्रिया