जनताका आधारभूत आवश्यकता पूरा गरिन्छ : मुख्यमन्त्री गुरुङ

admin

दमौली, १ फागुन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वाधीन अर्थतन्त्रको निर्माण गरी जनताको आधारभूत आवश्यकताहरु पूरा गरिने बताउनुभएको छ । चौबिसौँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको ‘जनआन्दोलन, जनयुद्ध र वर्तमान परिस्थिति’ विषयको अन्तरक्रियामा मुख्यमन्त्री गुरुङले जनताको आधारभूत आवश्यकतासँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार लाग्नुपर्ने बताउनुभयो । जनयुद्ध र जनआन्दोलनको बलमै राजसंस्थाको अन्त्य भएको भन्दै उहाँले जडसूत्रमा रमाएर बस्ने हो भने अहिलेको उपलब्धि पनि खोसिने जिकिर गर्नुभयो । 

सामन्तवाद विरुद्धको निर्णायक सङ्घर्षमा जनयुद्धको ठूलो भूमिका रहेको भन्दै नेकपाका स्थायी समितिका सदस्य एवं गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका गुरुङले जनताको चेतनास्तर बढाउने काममा जनयुद्धले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । विश्वभर सशस्त्र क्रान्ति असफल हुँदै गर्दा नेपाली भूमिमा नेपाली माटो सुहाँउदो जनयुद्ध र जनआन्दोलनको बलमा सामान्तवादी राजतन्त्रको अन्त्य भई आज कम्युनिष्ट पार्टीको नेतृत्वमा ऐतिहासिक परिवर्तन भइरहेको उहाँले बताउनुभयो । 

 

जनयुद्धका शहीद, बेपत्ता तथा घाइते अपाङ्गहरुले अझैसम्म पनि न्याय नपाएको भन्दै उहाँले अव सत्यनिरुपण तथा मेलमिलापा र बेपत्ता छानबिन आयोगलाई सफल बनाउनुपर्ने बताउनुभयो । नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले विगतमा को सही थियो वा को गलत थियो भन्नुभन्दा पनि जनयुद्धको बेलामा को कति कसको परिपूरक भयो भनेर विश्लेषण गर्नुपर्ने बताउनुभयो । 

 

नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संसाधन र सुशासन प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै ती सबै कामका लागि सबैभन्दा पहिला पूर्वाधार तयार हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले जनयुद्ध र जनआन्दोलनको जगमा भएको महत्वपूर्ण र ऐतिहासिक परिवर्तनको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । 

-रासस

प्रतिक्रिया