सडक दुर्घटनामा वृद्धि

कृष्ण रोकाया

लहान, २ फागुन : पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत र जेब्राक्रसिङ नहुदाँ सडक दुर्घटनामा वृद्धि भएको छ ।

सडकको दुवै छेउमा र बीचमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्रा क्रसिङ्ग चिन्ह् नदिदाँ सवारी दुर्घटना बढ्दै गएको हो ।

सडकको मर्मत गरिएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वको कोशी ब्यारेजदेखि पश्चिमको कमलासम्म मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्राक्रसिङ चिन्ह् नदिदाँ ती सडक दुर्घटनाका दृष्टिकोणले उच्च जोखिममा रहेका छन् ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । सो अवधिमा भएको ६० वटा सवारी दुर्घटनामा १०५ सवारी साधन क्षतिग्रस्त भएका छन् । सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको विभिन्न चेकजाँच तथा छड्के जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार ५५० सवारी साधनलाई कारवाही गरी ८९ लाख ५७ हजार ५०० राजस्व संक्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसरी सडक दुर्घटना हुनुमा विभिन्न कारण भए पनि सडकमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्राक्रसिङ नहुनु मुख्य कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सडकमा मार्किङ गरिएको छैन, चालकहरु लेन मिचेर सवारी साधान चलाएपनि मार्किङ नहुदाँ कारवाही गर्न सकिराखेका छैनौँ ।” सडकमा मार्किङ, रङपेन्टिङ र ठाउँ ठाउँमा जेब्राक्रसिङका लागि पटकपटक सडक डिभिजन कार्यालय लहानमा पत्राचार गरेपनि अहिलेसम्म कुनै वास्ता हुन नसकेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।

सडकमा ति चिन्ह्हरु दिने दायित्व सडक डिभिजन कार्यालय लहानको भए पनि बजेट अभावका कारण देखाउँदै आफ्नो दायित्वबाट पन्छिदा सडक दुर्घटना बढेको स्थानीयवासीको गुनासो छ । सडकमा दिनहुँ दुर्घटना हुँदै आए पनि लाइनिङ र जेब्राक्रसिङ गर्नेतर्फ सडक डिभिजन कार्यालय यसप्रति गम्भीर नहुनु दुःखद भएको लहानका स्थानीयवासी श्रवण चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सडकमा सवारी साधनको चाप अत्यधिक मात्रामा बढ्ेको छ, तर सडकको ठाउँ ठाउँमा खाल्डाखुल्डीसँगै सडकमा मार्किङ र लाइनिङ नदिँदा गाडी चलाउनसमेत डर लाग्न थालेको छ ।”

पैदययात्रीदेखि ठूलो सवारी साधनसमेत एउटै सडकमा चल्ने भएकाले सडकमा लाइनिङ नहँुदा जथाभाबी रुपमा बाटो काट्ने, ओभरटेक गर्ने जस्ता प्रवृति बढेकाले सडक दुर्घटना बढेको सिरहा गोलबजारका समाजसेवी जगदिश साहले बताउनुभयो ।

यता सडक डिभिजन कार्यालय लहानका प्रमुख जितेन्द्रकुमार चौधरीले बजेट नहुँदा सडकमा मार्किङ, रङपेन्टिङ तथा जेब्राक्रसिङ बनाउन नसकिएको जानकारी दिनुभयो । सडकमा मार्किङ, रङपेिन्टङ र जेब्राक्रसिङ बनाउन बजेट थोरै छ, प्रमुख चौधरीले भन्नुभयो, ‘‘थोरै बजेटकै कारण सडकमा त्यस्ता कामहरु गर्न नसकिएको हो ।” राजमार्गलाई स्तरोन्नति गरी ६ लेनमा विस्तार गरिने भएकाले पनि त्यसमा बजेट खर्च नगरिएको समेत उहाँको भनाइ छ ।

सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडकमा सावधानीका लागि विभिन्न संकेतले मात्र नपुगेर थोत्रा सवारीलाई नै राखि दिए पनि दुर्घटना न्यूनीकरण हुन नसकेको ट्राफिक प्रमुख बस्नेतको कथन छ ।

पहिलो पटक सवारी चालकको स्वास्थ्यलाई नै लक्षित गरेर सडकमै स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमसमेत ट्राफिक प्रहरीले चलाएको थियो । राजमार्ग तथा सहायक सडकमा लाइनिङ र जेब्राक्रसिङ नहुनुका साथै राजमार्गमा सवारी चाप बढी हुनु, राजमार्ग छेउ नै हाटबजार लाग्नु, छाडा चौपायाका कारण र चालकको सानो लापरवाही, मादकपदार्थ सेवन जस्ता कारणले सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

झण्डा महोत्सव सम्पन्न

राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा सञ्चालित झण्डा मेला महोत्सव सम्पन्न भएको छ ।

‘‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान” भन्ने मूल नाराका साथ गत माघ २० गतेदेखि सञ्चालन भएको महोत्सव बुधवार सकिएको हो । सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजनामा भएको महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीय स्तरमा उत्पदन हुने विभिन्न कृषि सामगीहरु प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

प्रदर्शनले किसानहरु व्यवसाहिक खेतीतर्फ आकर्षित हुने बताउँदै उहाँले सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृतसमेत गरिएको जानकारी दिनुभयो । पहिलो पटक आयोजना गरिएको महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, बाल मनोरञ्जन लगायत शिक्षामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

विभिन्न ५० स्टल राखिएको महोत्सवमा करीब एक लाखभन्दा बढीले अवलोकन गरेको आयोजकको अनुमान छ । रासस

प्रतिक्रिया