‘लुम्बिनीसँगै प्रदेशको समृद्धि जोडिएको छ’ : उपसभामुख थारु

admin

रुपन्देही, २ फागुन:प्रदेश ५ का उपसभामुख कृष्णी थारुले बुद्ध जन्मस्थललाई संसारकै पवित्र आध्यात्मिक तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको शङ्करनगरमा रहेको सुख शान्ति बौद्ध विहारमा आज आयोजना गरिएको गजुर प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध ढङ्गले कामको थालनी गरेको स्पष्ट पार्नुभयो । लुम्बिनी क्षेत्रको घनिभूत विकासका लागि थुप्रै खालका योजनाले धमाधम गति लिएका छन्”, उहाँले भन्नुभयो, “लुम्बिनीसँगै प्रदेशको समृद्धि जोडिएको छ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि लुम्बिनी आउने पर्यटकको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीसँगको पहुँच अभिवृद्धिका लागि यससँग जोडिएका सडक चौडा हँुदैछन् ।” यस क्षेत्रको पर्यटनलाई प्रवद्र्धन गर्न दीगो र व्यवस्थित योजना बनाएर अघि बढ्ने प्रदेश सरकारको चाहना रहेको उहाँको भनाइ छ ।

लुम्बिनीको पर्यटनबाट फाइदा लिनसक्ने अवस्था सिर्जना गर्न तीनै तहका सरकारको ध्यान लुम्बिनीको विकासमा केन्द्रित भएको उहाँले धारणा राख्नुभयो । कार्यक्रममा म्यान्माका राजदूत थिरी प्यान्ची उ तुन ने लिनले बर्मावासी अधिकांश बुद्ध जन्मस्थल आउन चाहेको बताउनुभयो । उहाँले बर्मामा नेपाली भाषीको सङ्ख्या धेरै भएकाले नेपाल र म्यान्माबीच आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री महास्थवीर, भिक्षु प्रज्ञा श्रीलगायतले बुद्ध दर्शनका विषयमा चर्चा गर्नुभएको थियो । सो अवसरमा नवनिर्मित सीमागृहमा गजुर प्रतिस्थापन गरिएको थियो ।
-रासस

प्रतिक्रिया