‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन हुँदै

रिता घिसिंग

पोखरा, १३ फागुन (रासस) : गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत रहेका छन् । ती स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालु वर्षमा हरेक अस्पताललाई रु ५०÷५० लाखका दरले रु एक करोड ५० लाख रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले राससलाई जानकारी दिनुभयो ।

अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन् । सूचना अधिकृत शर्माका अनुसार सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेत रहनेछ । ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधाबढीको सङ्ख्या घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ । नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । “गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो”, सूचना अधिकृत शर्माले भन्नुभयो । उसो त गण्डकी प्रदेश पूर्णखोप प्रदेशका रूपमा घोषणा भइसकेको छ ।

विशेषगरी यस प्रदेशमा वर्षेनी कतिजना सडक दुर्घटनामा परी मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसित छैन । यसैगरी सामाजिक विकास मन्त्रालयको आर्थिक एवं प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।

विसं २०१६ मा स्थापना भएको सो अस्पताल ५० श्ययाको रहेको छ । सामाजिक विकास मन्त्रालयको रु ७० लाखको अनुदानमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको सूचना अधिकृत शर्माले बताउनुभयो । सो अस्पतालमा गत वर्ष ३० हजार बिरामीले सेवा लिएका थिए । बालमृत्यु तथा मातृमृत्यु गत वर्ष अस्पतालमा शून्य भएको थियो ।

प्रतिक्रिया