छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग

कृष्ण रोकाया

डोटी, १५ फागुन :डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्नुपर्ने माग गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउपडी प्रथाविरुद्ध राष्ट्रिय अभियानका लागि आयोजना गरिएको जिल्लास्तरीय तयारी कार्यशाला कार्यक्रमका सहभागीले जिल्लालाई छाउपडीमुक्त जिल्ला घोषण गर्नुपर्ने माग गरेका हुन् । जिल्ला समन्वय समितिको आयोजना, सर्चफर ग्राउण्ड र फाया नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सांसद डा विन्दा पाण्डेले छाउपडी कुप्रथा भएको र यसलाई पूर्णरूपमा रोक्न स्थानीय तहहरुले कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । “छाउ हुँदा देशका अन्य जिल्लामा भेदभाव हुँदैन, सुदूरपश्चिममा मात्रै भेदभाव किन ?” उहाँले भन्नुभयो, “छाउपडी कुप्रथा हो, सबै तह र तप्का मिलेर यसको अन्त्य गर्न जरुरी छ ।” कार्यक्रमका सहभागीसमक्ष पाण्डेले सरकारलाई कडा कानून निर्माण गरी जनस्तरमा लागू गर्न आफूहरुले पहल गर्ने वचन दिनुभयो ।

महीनावारी हुनु भनेको सन्तान उत्पादन क्षमता भएको भनी खुशी हुनुको साटो छाउका नाममा महिलामाथि दुव्र्यवहार भइरहेकाले यसको अन्त्य गर्न जरुरी भएको स्थानीय तुलसी शाहीले बताउनुभयो । केही महीना पहिले छाउपडीका कारण बाजुरामा एक महिलासहित बालिका र डोटीमा एक महिलाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया