सुरक्षाकर्मीको तालीमगृह प्राथमिकतामा: गृहमन्त्री थापा

admin

काठमाडौँ, १५  फागुन: गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायको व्यावसायिक क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न उनीहरुका लागि नियमित तालीमको व्यवस्थालाई गृहमन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले आज यहाँ आयोजना गरेको बलको तेस्रो समूहको ‘एपिएफ कमाण्ड तथा स्टाफ कोर्ष’को दीक्षान्त समारोहमा गृहमन्त्री थापाले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न उक्त कोर्ष कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीलाई मानवअधिकारको रक्षा गर्दै अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा क्रियाशील रहन निर्देशन दिनुभयो । तालीमपश्चात् कार्यक्षेत्रमा खटिँदा यस्ता कोर्षबाट प्राप्त ज्ञान तथा अनुभवको उच्चतम उपयोग गर्नुपर्नेमा समेत गृहमन्त्री थापाले जोड दिनुभयो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले अप्ठेरो अवस्थामा सही निर्णय गर्ने सक्षम अधिकृत निर्माणमा यो कोर्ष सहयोगी सिद्ध हुने बताउनुभयो । बलका महानिरीक्षक शैलेन्द्र खनालले तालीमले बलका अधिकारीलाई थप व्यावसायिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा गृहमन्त्री थापाले सो कोर्षमा सर्वोत्कृष्ट सशस्त्र प्रहरी नायब उपरीक्षक भरत खनियालाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नाका साथै कोर्षका सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । 

 

गृहमन्त्री थापाले एपिएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण गर्नाका साथै स्टाफ कोर्ष सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने त्रिभुवन विश्वविद्यालयका प्रा डा शिवलाल भुसाल, प्रा डा रमेशराज कुँवर र सहप्राध्यापक डा शरदचन्द्र ठाकुरलाई प्रशंसापत्र प्रदान गर्नुभयो । गत वर्षको असोज ४ गतेदेखि सञ्चालित १८ महीनाको अवधिमा सो कोर्षमा १९ सशस्त्र प्रहरी नायब उपरीक्षक सहभागी थिए । सो कोर्षमा सहभागी अधिृकतलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयमा विज्ञहरुद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा जानकारी दिइयो । 

प्रतिक्रिया