बर्डफ्लु भित्रिन नदिन सतर्कता बढाइयो

रिता घिसिंग

दमौली, १९ फागुन (रासस) : छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमणले कुखुरा मर्न थालेपछि तनहुँ जिल्लामा सतर्कता बढाइएको छ । कास्की, चितवनलगायत जिल्लामा कुखुरामा एचफाइभ एचनाइन नामक फ्लुको सङ्क्रमणबाट कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा सुरक्षा सतर्कता बढाएको हो । 

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार पक्षी तथा पक्षीजन्य सामग्री बाह्य जिल्लाबाट तनहुँ भित्रिँदा पूर्वमा आँबुखैरेनी र पश्चिममा कोत्रेमा सुरक्षा निकायद्वारा आवश्यक कागजातहरु जाँच गरी स्वास्थ्य प्रमाणपत्रबिना ओसारपसार र बिक्रीवितरण कार्यमा पूर्ण रोक लगाइएको छ । 

 

उहाँका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बर्डफ्लु रोग निगरानी टोली गठन गरिएको, पक्षी फार्म र बजार निगरानी गरी नमूना सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “फार्मको निरीक्षण र अनुगमनपश्चात शङ्का लागेका पक्षीको नमूना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउने व्यवस्था मिलाइएको छ ।” 

 

उहाँले पक्षीपालक कृषकलाई आफ्नो फार्ममा जैविक सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गर्न आग्रहसमेत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बर्डफ्लु रोगबारे सर्वसाधारणलाई जानकारी हुने गरी जनचेतनाका लागि सञ्चारमाध्यमलाई सन्देश प्रवाहका लागि अनुरोध गरेका छौँ ।” 

 

डा श्रेष्ठका अनुसार बर्डफ्लु रोगको रोकथाम तथा न्यूनीकरणका लागि निरन्तर अनुगमन गरिने र पक्षी मरेमा स्थानीय तह पशुसेवा शाखा तथा केन्द्रमा जानकारी गराउन कृषकलाई अनुरोध गरिएको छ । 

 

तनहुँका प्रजिअ एवं बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका अध्यक्ष भरतकुमार शर्माले बर्डफ्लु नियन्त्रणका लागि प्रशासनका तर्फबाट सहयोग रहने बताउनुभयो । उहाँका अनुसार जिल्लाका नाकाबाट पक्षी आयातमा निगरानी थालिएको छ । जिल्लाका कुखुरा फार्म तथा जिउँदो पक्षी बिक्रीवितरण हुने बजार क्षेत्रमा प्राविधिक परिचालन गरी सक्रियरूपमा सर्भेक्षण गर्न र जिल्ला प्रहरी कार्यालयबाट सक्रियरूपमा जनशक्ति परिचालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । 

 

युआरएलको नयाँ शाखा 

 

पोखरामा मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शाखा विस्तार गरेको छ । 

 

तनहुँकै दमौलीमा पहिलो शाखा विस्तार गरिसकेको प्रालिले दुलेगौडामा दोस्रो शाखा विस्तार गरेको हो । शाखाको उद्घाटनका अवसरमा शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हरेक नेपाली आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

 

ल्याबको विश्वसनीयताले धेरै रोग पत्ता लगाउन सकिने भएकाले यसमा ध्यान दिनुपर्ने मन्त्री गुरुङले बताउनुभयो । गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री गुरुङले प्रदेशभित्रका सबै नागरिकले सहज र सर्वसुलभ स्वास्थ्य पाउने बताउनुभयो । 

 

यस क्षेत्रका सर्वसाधारणलाई यहीँबाट रक्त परीक्षणको सुविधा दिने उद्देश्यसहित प्रालिले शाखा विस्तार गरेको प्रालिका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार रु एक करोडको लगानीमा विस्तार गरिएको शाखामा पाँच दक्ष जनशक्ति कार्यरत छन् । शाखा विस्तारपछि दुलेगौँडा, बेलचौतारा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु, स्याङ्जाको हरिनाश र बिरुवा गाउँपालिकाका सेवाग्राही रक्त परीक्षणका लागि पोखरा जानुपर्ने बाध्यता हटेको छ । 

 

युआरएलको नौ जिल्लाका ५२ स्थानमा आधिकारिक सङ्कलन केन्द्र रहेको छ । सङ्कलन केन्द्रबाट जम्मा भएको नमूना मुख्य कार्यालय वा शाखा कार्यालयबाट जाँच हुने गरेको छ । विसं २०७० मङ्सिर २३ गते स्थापना भएको प्रालिले हालसम्म ९० हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकेको पन्तले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार शाखा स्थापनासँगै सर्वसाधारणले रगत परीक्षणबाट पत्ता लाग्ने ३५० बढी परीक्षणको सुविधा यहीँबाटै प्राप्त गर्न सक्नेछन् । युआरएलले राजधानीलगायत संसारका उत्कृष्ट ८० प्रतिशत बढी प्रयोगशालामा प्रयोग गरिँदै आएको संसारकै सर्वोत्कृष्ट प्रविधि जर्मनीको रोस कम्पनीको ‘कोबास ई फोर वान वान’को ‘इकिलिया मेथड’बाट रक्त परीक्षण गर्दै आएको जनाएको छ । 

 

प्रतिक्रिया