प्रदेशसभाको बैठकमा शोक प्रस्ताव

रिता घिसिंग

विराटनगर, १९ फागुन (रासस) : प्रदेश नं १, प्रदेशसभाको आजको बैठकमा शोक प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१० मा पर्ने फुरुङ्बो र फक्ताङलुङ गाउँपालिका–३ लिङखिमको सीमा क्षेत्र सिस्ने खोलाको सिरान दारेभिरमा फागनु १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जनाको असामयिक निधन भएकामा प्रदेशसभाले गहिरो शोक प्रकट गर्दै उहाँहरुको दिवङ्गत आत्माको चिरशन्तिका कामनासहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले जारी गर्नुभएको शोक प्रस्तावमा ‘प्रदेशसभाको यो बैठक २०६४ र २०७० सालको प्रतिनिधिसभाको सदस्य निर्वाचनमा कास्की जिल्ला क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्को विकास समितिका पूर्वसभापति, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताका पक्षमा अनवरत रुपमा लाग्नुभएका विकासप्रेमी जनप्रिय नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीका साथै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभोय, उपसचिव युवराज दाहाल, क्याप्टेल प्रभाकर केसी र जमदार अर्जुन घिमिरे’ सो दुर्घटनामा परी ज्यान गुमाउनु भएको थियो ।

बैठकमा दिवङ्गत आत्माको सम्मानमा एक मिनट मौनधारणा पनि गरिएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन २६ गते दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया