किन बग्छ नाकबाट रगत ? यस्तो छ कारण

रिता घिसिंग

कहिलेकाहीँ नसोचेको हुन्छ, विनाकारण नाकबाट रगत चुहिन्छ । नाकबाट एक्कासि रगत आएपछि सामान्यतः नाथ्री फुटेको भनेर सोच्न पुग्छौँ । शरीर खरो भएर नाथ्री फुटेको अनुमान लगाउँछौँ । माथि हेरेर हातले नाक केही बेर छोपेपछि रगत आउन छोड्छ । तर, कसैकसैलाई समस्या भई नै रहन्छ । आखिर किन आउँछ नाकबाट रगत ? यसका पछाडि के–के कारण होलान् ? नाक, कान, घाँटीरोग विशेषज्ञ प्रा.डा. लालकिशोर यादव भन्छन् : रगत बग्ने कारण

१.नाकबाट रगत बग्ने समस्या प्रायः गर्मीमा हुने गर्छ । तर, अन्य समयमा पनि समस्या ननिम्तिने भने होइन । गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफै फुट्छन् र त्यहाँबाट रगत आउँछ ।

२. कुनै चिज नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ ।

३. रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई नाकमा घाउ हुँदा पनि रगत आउन सक्छ । नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ ।

४. रगतमा हुनुपर्ने प्लेटलेटको कमी हुँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ ।

५. रक्तजन्य रोगहरू हुँदा होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ ।

मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ । रगत रोक्ने उपचार:

१. नाकबाट रगत आएमा बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्यापेर १० मिनेटसम्म अगाडिपट्टि निहुरिनुपर्छ । यो वेला मुखबाट श्वास फेर्नुपर्छ । रगत बग्न नियन्त्रण हुनसक्छ । नोजल ड्रप प्रयोग गरेर रगत रोक्नु हुँदैन । यसले तत्काल नसा खुम्च्याएर रगत बन्द गरे पनि केही समयमा नै पुनः रगत आउन सक्छ ।

२. १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ । प्राथमिक उपचारले रगत नरोकिए कारण गम्भीर हुनसक्छ ।

३. नाकको अगाडिको भागमा नसा फुटेर रगत आएको समस्या औषधिबाट नै ठीक हुन्छ भने पछाडिपट्टि समस्या भए एक प्रकारको चक्कीले प्रेसर दिएर रगत रोक्नुपर्ने हुन्छ ।

४. विभिन्न रोगको असरका कारण रगत आएको हो भने दीर्घकालीन रोकथामका लागि मूल रोगकै उपचार गर्नुपर्छ । एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्ता व्यक्तिले घामबाट बाहिर निस्कँदा होस पु¥याउनुपर्छ । केटाकेटीलाई धेरै गर्मीमा खेल्न दिन हुँदैन । केटाकेटी घाममा धेरै खेल्दा र दौडँदा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ । रुघाखोकीले नाकमा संक्रमण गराउने हुँदा यो अवस्थामा पनि ख्याल गर्नुपर्छ ।

प्रतिक्रिया