राससका ढुङ्गानासहित छ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’

रिता घिसिंग

काठमाडौंँ, २० फागुन (रासस) : नेपाली सेनाले ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका १० तारेभीरमा भएको एयर डाईनेष्टिकको हेलिकप्टर दुर्घटना हुँदा जोखिमपूर्ण अवस्थामा रहेर समाचार सङ्कलन गर्ने राससका पत्रकार नारायण ढुङ्गानासहित विभिन्न सञ्चारमाध्यामका छ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । 

महाशिवरात्री तथा सेना दिवसको अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उहाँहरूलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका ढुङ्गाना, कान्तिपुर टेलिभिजनका रमेश धमला र विनोद कोजू, एपी वान टेलिभिजनका मनोज जोशी र सञ्जय न्यौपाने तथा देशसञ्चार अनलाइनका वर्षा शाह रहनुभएको छ । 

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार उक्त हेलिकप्टर तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा फागुन १५ गते दिउँसो दुर्घटना भएको थियो । त्यससम्बन्धी समाचार सङ्कलनका लागि नेपाली सेनासँगै उहाँहरु ताप्लेजुङ पुग्नुभएको थियो । 

 

पत्रकारहरुलाई पदक लगाईदिँदै प्रधानसेनापति थापाले सामूहिक भावनाका साथ काम गरेका कारण अप्ठेरो परिस्थितिमा छोटो समयमै उद्धारमा सफलता मिलेको प्रतिक्रिया दिँदै साहसिक कार्यको प्रशंसा गर्नुभयो । 

प्रतिकूल मौसमका बेलामा भएको उक्त दुर्घटनाको विषयमा हावाहुरीसँगैको भारी हिमपात भएपनि साहसिक पत्रकारितामार्फत जनतालाई सुसूचित गर्नु भएकाले उहाँहरुलाई विभूषित गरिएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिनुभयो । 

 

उक्त दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो । 

 

प्रतिक्रिया