रसुवामा दश हजार घर निर्माण

admin

रसुवा, २० फागुन : भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत रसुवा जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाका अनुसार रसुवा जिल्लाको पाँच वटा गाउँपालिकाअन्तर्गत २७ वडामध्ये १० हजार ३३६ लाभग्राहीले निजी आवास पुनःनिर्माण एवं २१९ जनाले प्रवलीकरण गरिसकेको छन् ।

प्रबलीकरणसमेत नौ हजार ६६६ सरकारी अनुदानबाट र ८७९ घर गैससको अनुदान निर्माण सम्पन्न भएको बताइएको छ । विसं २०७२ को भूकम्पले विस्थापित भई बस्ती स्थान्तरण गर्नुपर्ने ९९९ जना सूचीकृत भएका लाभग्राहीमध्ये ४२८ जनालाई जग्गा खरीद गर्ने काम सम्पन्न भइसकेको, ७३ घर परिवार सुरक्षित बसोबास लागि नुवाकोट जिल्लालगायतका स्थानमा सरी गएको र अन्यको बसोबासका लागि जमीन खोज्ने काम भइरहेको छ । विस्थापित केहीलाई उत्तरगया गाउँपालिका–१ को तिरु क्षेत्रमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाका कायममुकायम प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण धुञ्चे एकाइले भूकम्प प्रभावित १४ जिल्लामध्ये पुनः निर्माणमा रसुवा जिल्ला प्रथम स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ । उत्तरगया गाउँपालिकाले भने रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यले जनतालाई यातायातको सहज बनाउन आफ्नो निजीस्तरबाट स्काभेटर खरीद गरी सामूहिक विकासमा परिचालन गर्दा गाउँगाउँको सडक सामान्य बाटो खुल्न गई निर्माणका सामग्री ढुवानीमा सहज भएबाट पुनःनिर्माणको काम तीव्ररुपमा अगाडि बढाउन सफल भएको जनाएको छ ।

नौकुण्ड गाउँपालिकाले निर्माण गरेको गाउँले सडकमा परेका पहराका ढुङ्गा फुटाउन सांसद आचार्यले ब्रेकर उपलब्ध गराई सडक निर्माणमा सहयोग गरेका कारण अहिले आफ्नो क्षेत्रका सबै वडाका बस्तीमा सवारी साधन गुड्न थालिसकेको नौकुण्ड गापाका अध्यक्ष नुर्पु साङ्वो घलेले जानकारी दिनुभयो । निजीस्तरबाट जिल्लाको समग्र विकासमा सांसद मोहन आचार्यको सहयोग उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ ।

भूकम्पपछि विस्थापित भई साविक हाकु गोगने मैलुङ हाल उत्तरगया गापा १ बाट बेत्रावती आसपासको त्रिशूली नदीस्थित खाल्टेबगरमा बसोबास गर्दै आएका २५० भन्दाबढी घर परिवारले आफ्नो थातथलो क्षेत्रमा बढी पहिरो भएका कारण खाल्टेबगर आसपासका क्षेत्रमा पुनः स्थान गराइदिन प्रदेश नं ३ का मुख्यमन्त्रीलगायत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष अनुरोध गरिएको भूकम्प विस्थापित आशावीर तामाङले बताउनुभयो । भूकम्प विस्थापितलाई जग्गा खरीद गर्न हालसम्म आठ कारोड ५६ लाख, जोखिम वर्गलाई थप ५० हजारका दरले ८८ लाख ५० हजार र आवास पुुनः निर्माणका लागि ९४ करोड ५७ लाख भुक्तानी भइसकेको र सम्झौता हुन बाँकी र जग्गा व्यवस्थापनको प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका कामु प्रमुख थापाले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया