वरिष्ठ पत्रकार श्रेष्ठको निधनप्रति महासङघद्वारा दुःख व्यक्त

शर्मिला गुरुङ

काठमाडौँ, ४ चैत : नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“ शनिबार दिउँसो ८६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको दुःखद् खबरले महासङ्घ स्तब्ध भएको छ”, महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै निधन भएको थियो ।

काठमाडौँ महानगरपालिका ताहाचल निवासी पूर्वसभापति श्रेष्ठ राष्ट्रिय समाचार समितिका संस्थापक सदस्यसमेत हुनुहुन्थ्यो । उहाँले ‘मदरल्याण्ड’ अङ्ग्रेजी दैनिकको सम्पादनसमेत गर्नुभएको थियो । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासङ्घले अभिभावक गुमाएको विज्ञप्तिमा उल्लेख छ छ । महासङ्घले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

फोनिजद्वारा दुःख व्यक्त

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

फोनिजका महासचिव मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गरी दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । “उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले अपुरणीय क्षति व्यहोरेको छ, आदिवासी जनजाति पत्रकारहरुले एकजना अभिभावक गुमाएका छन्”, विज्ञप्तिमा भनिएको छ । रासस

प्रतिक्रिया