डिजिटल सूचना पाटी जडान

रिता घिसिंग

डोटी, ६ चैत (रासस) : नगरपालिकाबाट दिइने सेवा सुविधाको बारेमा आम नागरिकलाई बुझन सजिलो होस् भन्नका लागि शिखर नगरपालिकामा डिजिटल सूचना पाटी जडान गरिएको छ । जिल्लामै पहिलोपटक उक्त नगरपालिकामा सेवाग्राहीको सहज पहुँच रहने गरी उक्त सूचना पाटी जडान गरिएको नगर प्रमुख सीताराम जोशीले बताउनुभयो ।

उहाँले नगरपालिकाबाट प्रदान हुने सेवा सुविधा र गरिने क्रियाकलापका बारेमा आम नागरिकले सूचना सहज रुपमा प्रदान गर्न सो प्रविधि जडान गरिएको जानकारी दिनुभयो । डिजिटल सूचना पाटी विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्ने माध्यम भएकाले बदलिँदो सूचनाको प्रविधिलाई ध्यानमा राखेर उक्त सूचना पाटी शुरु गरिएको नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताउनुभयो ।

सो नगरपालिकाले सम्पूर्ण वडा कार्यालयसम्म उक्त सूचना पाटी जडान गरिने लक्ष्य लिएको बताइएको छ । नगरपालिकाले यसभन्दा पहिले घरघरमै सेवाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप्स सञ्चालन गरिसकेको छ । सामाजिक सुरक्षाका सम्पूर्ण तथ्याङ्कसमेत अनलाइनमा दर्ता गर्ने काम भइरहेको छ ।

छाउपडी मुक्त नगरपालिका बनाइने

शिखर नगरपालिकालाई यो वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गरिने भएको छ । उक्त नगरपालिकालाई छाउपडी मुक्त बनाउन गृहकार्य भइरहेको छ । फाया नेपालकोे आयोजनामा महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिले यसै आर्थिक वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजनासहित अगाडि बढेका छन् ।

छाउपडी प्रथा एक सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको नगर प्रमुख जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छाउपडी मुक्त नगरपालिका बनाउने अभियानमा छौँ, यो वर्षभित्रै छाउपडी मुक्त नगरपालिका हुनेछ ।”

सामाजिक कुरीतिसँग जोडेर विभेद् गरेका कारण महिलाले छाउपडीको शिकार हुनु परेको नगर उपप्रमुख धौलीदेवी रावलले बताउनुभयो । पछिल्लो समय जिल्लाका शिखर नगरपालिका, बडिकेदार गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले हाम्रो नेतृत्व परियोजनाअन्तर्गत छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालीम, गोष्ठी र वकालतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया