श्रीमती ‘भर्जिनिटी टेस्ट’ मा फेल भएपछि ४८ घण्टामै तोडियो सम्बन्ध

रिता घिसिंग

एजेन्सी : भनिन्छ, पति-पत्नीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । अहिलेको जमानामा यो सम्बन्ध भर्जिनिटी टेस्टमा टिकेको छ भने पनि आश्चर्य नमाने हुन्छ ।

भारतको महाराष्ट्र राज्यमा भर्जिनिटी टेस्टको एउटा घटना बाहिर आएको छ । महाराष्ट्रको नासिकमा भर्जिनिटी टेस्टमा पत्नी फेल भएपछि एक व्यक्तिले बिहेको ४८ घन्टामै सम्बन्ध तोडेका छन् ।

 

पत्नीको भर्जिनिटीमाथि शंका भएपछि ती व्यक्तिले पञ्चायतमार्फत परीक्षण गराएका थिए । यो टेस्टमा फेल भएलगत्तै ती व्यक्तिले नवविवाहित पत्नीसँगको सम्बन्ध तोडेका हुन् ।

 

ती पतिले आफूले पत्नीको भर्जिनिटी परीक्षण गरेको प्रमाणसमेत गाउँ पञ्चायतमा बुझाएका थिए । उनले सुन्दै अनौठो लाग्ने सबुत प्रमाण पञ्चायतमा पेश गरेपछि नवविवाहित पत्नीलाई छाडिदिएका हुन् ।

 

ती पतिले भर्जिनिटी टेस्टमा पत्नी फेल भएको प्रमाणस्वरुप सुहागरातका दिन पत्नीसँगै सुतेको तन्नासमेत पञ्चायतमा पेश गरेका थिए । पत्नीसँग बिहेको पहिलो रात सुतेको ओछ्यानको तन्नालाई हेरेर सोही आधारमा पञ्चायतले ती युवालाई पत्नीसँग सम्बन्ध तोड्न अनुमति दिएको थियो ।

 

सामाजिक कार्यकर्ता रञ्जना गावान्डे र कृष्‍णा चन्दगुडेलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार जुन युवतीसँग सम्बन्ध तोडिएको छ उनी प्रहरीमा भर्ती हुने तयारीमा थिइन् ।

 

प्रहरीमा भर्ती हुनका लागि उनले निरन्तर लामो दौड, साइकल चलाउनुका साथै अन्य कठिन शारीरिक अभ्यास पनि गरिरहेकी थिइन् ।

 

ती युवतीले पञ्चतायतको यस निर्णयपछि आफू न्यायका लागि पुलिसमा जाने बताएकी छन् । उनले अन्धविश्वास र भ्रममा परेको पञ्चायतको निर्णयलाई आफूले चुनौती दिने बताएकी छन् । 

प्रतिक्रिया