चैत १०, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा अनुसन्धानमा लापरबाही गरेकाे मुख्य आराेप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएकाे थियाे । साे मुद्दामा उनकाे थुनछेक शुक्रबारै सकिए पनि समयाभावका कारण भन्दै अदालतले आज (आइतबार) धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।
जिल्ला अदालत कञ्चनपुरले यातनाविरुद्धको मुद्दामा साढे ४ लाख र अनुसन्धानमा लापरबाही मुद्दामा ६ लाख धरौटी गरी कुल १० लाख धराैटी रकम आजै ४ बजेभित्र बुझाउनुपर्ने गरी आदेश गरिएकाे हाे ।
तत्कालीन एसपी विष्टविरुद्ध साे प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र घटनाकाे अनुसन्धानमा लापरबाही गर्दै प्रमाण नष्ट गरेको अभियोग लागेकाे थियाे । साे मुद्दामा अदालतले आज सुनुवाई गरेकाे हाे । साेही अभियाेग लागेपछि निलम्बित एसपी विष्टविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले आफैँ अदालतमा आत्मसमर्पण गरेका थिए ।
जिल्ला अदालत कञ्चनपुरमा साेही प्रकरणमा ८ जना प्रहरी विरुद्ध मुद्दा दायर भएकाेमा ६ प्रहरीलाई यसअघि नै धरौटीमा रिहा गर्न आदेश दिइएको छ । फरार रहेका ‘सीआइबी’ का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कबिहिन छन्।