निर्मला हत्या प्रकरण : फरार सूचीमा रहेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित

रिता घिसिंग

चैत ११, कञ्चनपुर : कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तकाे बलात्कार तथा हत्या अनुसन्धानमा लापरबाही गरेकाे आरोप लागेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी जिसी आज (सोमबार) बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । यसअघि उनी प्रहरीकाे फरार सूचीमा रहेका थिए ।

अ‍दालतले उपस्थित हुन सूचना निकालेकाे दुई सातापछि जिसी आफै अदालतमा उपस्थित भएका हुन् । गत फागुन २६ गते उनलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरिएकाे थियाे ।

 

अदालतमा आत्मसमर्पण गरेपछि डिएसपी जिसीकाे बयान लिने क्रम सुरु भएकाे छ । बयान सकिएपछि उनकाे मुद्दामा थुछेक बहस सुरु हुने जनाइएकाे छ ।

 

डिएसपी जिसीविरुद्ध घटनाकाे अनुसन्धानमा लापरबाही तथा प्रमाण मेटाउन भूमिका खेलेकाे तथा पक्राउ परेकालाई यातना दिएकाे अभियाेगमा मुद्दा दायर गरिएकाे थियाे । उनीसहित ८ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र शंकाष्पद अभियुक्त मानिएका दिलिपसिंह विष्टकाे परिवारले मुद्दा दर्ता गराएका थिए ।

 

 

प्रतिक्रिया