काठमाडौँ, बैशाख ५ : नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह प्रक्षेपण गरेकाे छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २:३५ बजे अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।
उक्त स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेका थिए । स्पेश इन्जिनियरिङमा पीएचडी गरिरहेकाका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको स्याटेलाइटलाई NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएकाे छ ।
योसँगै नेपाल पहिलाेपटक अन्तरिक्ष युगमा प्रवेश गरेकाे छ । उक्त भूउपग्रहमा नेपालको चन्द्र-सूर्य अंकित झण्डाका साथै नाष्टको प्रतीकचिह्नसमेत अंकित गरिएकाे छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले जानकारी दिए ।
बिहीबार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याउने कार्यक्रम रहेको छ। बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो। नेपलसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ ।
नेपाल, श्रीलंका र जापानकाे भूउपग्रह
भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।
नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तीन सय ग्राम रहेको छ । यसमा नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।
उक्त भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ ।नेपालसहित श्रीलंका, जापान तीन वटा नानो स्याटेलाइटको अतिरिक्त अन्तरीक्षक केन्द्रको प्रयोगशाला समग्री गरी ३ हजार ४ सय ५० किलो कार्गो रहेको छ ।
नेपाल सरकारले लगानी गरेकाेले नेपालीस्याट- १ अन्तरिक्षमा प्रक्षेपण गर्न सफल भएकाे मास्केले बताए । पहिलाे प्रक्षेपण भएकाले नेपाललाई आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती रहेकाे पनि उनले बताए । नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको थियो ।