अति विपन्न परिवारलाई निःशुल्क मिटर

admin

भद्रपुर, १३ वैशाख : नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाले आफ्नो केन्द्रअन्तर्गतका अति विपन्न परिवारका ५० घर परिवारलाई निःशुल्क मिटर प्रदान गरेको छ । केन्द्रका कर्मचारीले आज कचनकवल गाउँपालिका–१ घेराबारीका अतिविपन्न ५० घर परिवारको घरमै पुगेर मिटर जडान गरिदिएका हुन् ।

शाखा प्रमुख रामउद्गार साहले कर्मचारी लिएर आफैँ विपन्न परिवारको घरमा गएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५÷७६ को केन्द्रको कार्यक्रमअन्तर्गत नै सो मिटर जडान गरेको बताउनुभयो । उहाँका अनुसार यस केन्द्रअन्तर्गत मेचीनगर, भद्रपुर नगरपालिका र अन्य तीन गाउँपालिका रहेका छन् ।

चालू आर्थिक वर्षमा नगरपालिका र गाउँपालिकाको सिफारिशका आधारमा परेका ५५० वटा निवेदनमध्ये अति विपन्नलाई छानेर हालसम्ममा २०० परिवारको घरमा मिटर जडान गरिएको उहाँको भनाइ छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा एक हजार २०० सम्मलाई निःशुल्क मिटर प्रदान गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख साहले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया