विद्यार्थी कम भएपछि ३ ओटा विद्यालय समायोजन

admin

दमौली, १५ वैशाख: विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ । वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार समायोजन भएका विद्यालयहरुमा तीन कक्षासम्म अध्यापन हुन्थ्यो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्या न्यून भएका र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजीकको विद्यालयमा समायोजन गरिएको छ । नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो ।” समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत् रहने शाखा प्रमुख पौडेलले बताउनुभयो ।

नगरपालिकाले भिमाद नगरपालिका–७ स्थित पोखरीछाप आधारभूत विद्यालयको दुई माथिल्लो कक्षा हटाएको छ । कक्षा ५ सम्म पढाइ हँुदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाइएकाले अब त्यहाँ कक्षा ३ सम्म पढाइ हुनेछ । नगर क्षेत्रभित्र ६५ सामुदायिक विद्यालय छन् ।रासस

प्रतिक्रिया