बसिरहने बानी छ ? त्यसो भए तपाई पक्का रोगी !

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। हामी बिहान व्यायाम गर्ने गर्छौ ताकी हाम्रो शरीर स्वस्थ रहोस। दिनभरि धेरै समय बसेर काम गर्नाले जति व्यायाम गरेतापनि शरीरमा भएको मेटाबोलिकले काम गर्न छोड्छ। घरमा हुँदा होस् या बाहिर जाँदा जो कोही पनि उभिन भन्दा सकेसम्म बस्नै खोज्छ, चाहे थकाई लागेको होस्, या नहोस् ।

हामीले खाएको खाने कुरा पचाउन मेटाबोलिकले मुख्य भूमिका खेलेको हुन्छ। खाना नपच्दा हाम्रो शरीर अस्वस्थ त हुन्छ नै साथसाथै व्यायामबाट हुने फाईदा समेत हाम्रो शरीरले लिन पाउदैन। व्यायाम गर्नु र नगर्नुको केहि तुक रहँदैन।

धेरै समय बसेर काम गर्दा निको नि नहुने रोग समेत लाग्न सक्छ। त्यस्ता व्यक्तिमा मधुमेह, मुटु रोग देखिन सक्ने सम्भावना प्रवल हुन्छ।

नयाँ अध्ययन अनुसार दैनिक लामो समयसम्म बस्नेहरुमा स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखा पर्न थालेका छन् । लामो समय बसिरहँदा नशा खुम्चने, घुँडाको हड्डी खिईने, ढाड र काँध दुख्ने जस्ता समस्या आउने मात्रै होईन अरु दीर्घकालिन रोगको जोखिम पनि बढ्दो छ ।

विज्ञले यस्तो लामो समय बस्दा आउने समस्यालाई ‘सिटिङ डिजिज’ नाम दिएका छन् । बसेर काम गर्ने कारणले शरीरमा मेटाबोलिज्ममा असर गर्ने र जीवनशैली पनि प्रभावित हुने विज्ञको भनाई छ ।

धेरैजसो समय बसेर बिताउनेहरुको शारीरिक गतिविधी निकै कम हुने भएकाले शरीरमा धेरै खालका समस्या आउने गरेका छन् । जानकारीमूलक वेबसाईट जस्ट स्ट्यान्ड डट ओआरजीका अनुसार दिनभर लामो समयसम्म बसेर काम गर्नाले क्यान्सर, मधुमेह, मोटोपन जस्ता स्वास्थ्य समस्या आउँछन् ।

दैनिक धेरैजसो समय बसिरहनेमा हृदयघातको जोखिम धुमपान गर्नेलाई जत्तिकै हुन्छ । हरेक दिन जम्मा दुईघण्टा मात्रै लगातार बसिरहेमा रक्तप्रवाह कम हुन्छ भने ब्लड सुगरको मात्रा अस्थिर हुन्छ । तथ्यांक अनुसार जो मानिस दिनमा ११ घण्टा भन्दा बढी समयसम्म बस्छ ।

आउँदो तीन वर्षमा उसको मृत्युको सम्भावना एक दिनमा चार घण्टा या कम समय बस्ने मानिसको तुलनामा ४० प्रतिशतले बढी हुने अध्ययनले देखाएको छ ।

यस्तै १० वर्ष लगातारजसो बसिरहने मानिसलाई पेटको क्यान्सर हुने खतरा दोब्बर हुन्छ । अमेरिकन क्यान्सर सोसाईटीले सन् १९९३ देखि २००६ सम्म गरेको अध्ययनले दैनिक ६ घण्टा लगातार बस्ने र शारीरिक रुपमा कम सक्रिय हुने महिलाको अरु महिलाको तुलनामा ज्यान जाने जोखिम ९४ प्रतिशत र पुरुषमा ४८ प्रतिशत बढी हुन्छ ।

यस्तै अष्ट्रेलियाको न्यूसाउथ वेल्समा गरिएको अध्ययनले पनि दैनिक ४ घण्टाभन्दा बढी समय लगातार बस्ने मानिसमा दीर्घरोग लाग्ने जोखिम धेरै भएको देखाएको छ ।

विज्ञहरुले दिनमा धेरैजसो समय बसेरै बिताउनेहरुलाई व्यायामले पनि असर नगर्ने बताएका छन् । ‘दैनिक ८ देखि १० घण्टा बसिरहनेले दैनिक आधा घण्टा जिममा पसिना बगाएर खासै फरक पर्दैन’ विज्ञहरु भन्छन् । तर केही बढी समयको व्यायाम भने फाईदाजनक हुनसक्छ ।

दैनिक ८ देखि १० घण्टा बसेर काम गर्नुपर्छ भने, पैदल हिंड्नु, साईकल चलाउनु र पौडी खेल्नु फाईदाजनक हुनसक्छ ।

घरमा भए धेरैजसो उभिने या हिंडिरहने, उभिएर टिभी हेर्ने र विज्ञापन आएको बेला यताउता हिंडडुल गर्नु तथा कार्यालय जानुपर्ने छ भने नीजि गाडीलाई कार्यालयबाट टाढै पार्क गर्ने र हिंडदै जानु लाभदायक हुने चिकित्सकहरु बताउँछन् । एक दिनमा १० हजार कदम हिंड्न कोशिश गर्नु सबैभन्दा उत्तम हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया