काठमाडौँ, १५ वैशाख : यही वैशाख १ गतेदेखि लुक्लाबाट शुरु गरिएको सगरमाथा सफाइ अभियानको समूह सगरमाथाको आशार शिविर ‘बेस क्याम्प’ पुगेको छ ।खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाइ गर्दै टोली बेस क्याम्प पुगेको अभियानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यसबीचमा नेपाली सेनाको एम आई १७ हेलिकोप्टरबाट करीब तीन हजार किलो सङ्कलित फोहरमध्ये दुई हजार किलो फोहर ओखलढुङ्गा राख्ने र करीब एक हजार किलो काठमाडौँसम्म ल्याएर ब्ल्यूओष्ट टु भ्यालू नामक संस्थालाई हस्तान्तरण भइसकेको पर्यटन विभागका महानिर्देशकसमेत रहनुभएका अभियानको सूचना प्रबाह समितिका संयोजक डण्डुराज घिमिरेले बताउनुभयो । सफाइ अभियानअन्तर्गत नेपाली सेनालगायत शेर्पासहितको टोली बेस क्याम्प व्यवस्थापनमा खटिने सम्पूर्ण सदस्यको लागि आवश्यक रसद पानी र बन्दोवस्तीलगायतका आवश्यक सामग्री आधार शिविर पुगिसकेको र क्याम्प–२ का लागि तयारी भइरहेको जनाइएको छ ।
दुई करोड बढी सहयोग रकम उठ्यो
अभियानअन्तर्गत आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको र हालसम्म करीब रु दुई करोड ६७ लाख जम्मा भइसकेको अभियानले जनाएको छ । विभिन्न निकायबाट आएको सहयोग रकम पारदर्शी ढङ्गले व्यवस्थित रुपमा सरसफाइमा खर्च गरिने महानिर्देशक घिमिरेको भनाइ छ । अहिले उठेको रकम बढी भए अर्को वर्षको अभियानलाई खर्च गरिनेछ । सरकारी निकायको सरकारी खाता र निजीतर्फबाट आएको सहयोगको सगरमाथा प्रदूषण नियन्त्रण समितिको खातामा जम्मा हुने उहाँले उल्लेख गर्नुभयो ।
सगरमाथा सफाइ अभियानबाट आधार शिविर र वरपरबाट करीब पाँच हजार किलो साउथ कोलबाट करीब दुई हजार किलो र क्याम्प २ र ३ बाट करीब तीन हजार किलो फोहर सङ्कलन गरिनेछ । सम्भव भएसम्म शव सङ्कलन गरी व्यवस्थापन गर्ने लक्ष्य लिइएको अभियानले जनाएको छ । सगरमाथाबाट सङ्कलित फोहरलाई आगामी जेठ १५ गते सगरमाथा दिवसको दिन नाम्चे (सोलुखुम्बु)मा प्रदर्शन गरिनेछ भने कानूनी रुपमा पुनःप्रयोग गर्न मिल्ने फोहरलाई काठमाडौँ ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसका दिन प्रदर्शनी गरी पुनःप्रयोग गरिनेछ । पैतालिस दिन अवधिमा सम्पन्न गरिने सफाइ कार्यक्रममा १२ जना शेर्पा जनशक्ति प्रयोग गरिनेछ ।
अभियानका लागि करीब रु दुई करोड ३२ लाख १६ हजार ३०७ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्धार टोली र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिने छ । अहिले नेपाली सेनाका तीन हेलिकोप्टरमध्ये दुई फोहर बोक्न र एक उद्धारका लागि तयारी अवस्थामा छन् । आठ जना शेर्पा क्याम्प २ मा बसेर तीन जनाको टोली तलमाथि गरी पालैपालो साउथकेलसम्म पुगेर फोहर जम्मा गरिनेछ । साउथकोल पुग्ने टोली पाँच दिनसम्म त्यही बस्ने र सफाइ टोली अन्तिम समयसम्म बसेर सफाइ गरिने जनाइएको छ । रासस