सप्तरी, १६ वैशाख: मामाघर बिहेमा गएका सप्तरीको राजगढ गाउँपालिका–३ का १२ वर्षीय बालक बेपता भएका छन् । स्थानीय बालक लक्ष्मण यादवलाई राति मोटरसाइकलमा आएका केही व्यक्तिले विवाह भइरहेको स्थानबाट कसैले अपहरण गरिलगेको लक्ष्मणका मामा भोलेन्द्र यादवले बताउनुभयो । आफ्नै गाउँमा भइरहेको मामाको बिहेमा लक्ष्मण जन्ती गएका बेला केही व्यक्तिले उनलाई अपहरण गरेर लगेको हुन सक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
विवाहको जन्तीबाटै बेपता भएका बालकका मामा भोलेन्द्र प्रहरी जवान रहेका स्थानीयवासीले जनाएको छ । यता लक्ष्मणका परिवारजनले जिल्ला प्रहरी कार्यालयमा बालकको हुलिया जाहेरी दिँदै खोजीका लागि प्रहरीसँग गुहार मागेका छन् । सप्तरीमा बालबालिका हराउने र अपहरणमा पर्नेको सङ्ख्या बढदै गएको प्रहरीको भनाइ छ । यसैबीच बेपत्ता भई अपहरणमा परेका बालकका विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै बालकको खोजी तीव्र पारेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । त्यस्तै विगत दुई सातादेखि सप्तरीको रुपनी गाउँपालिकाबाट बेपत्ता भएकी एक बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
स्थानीयवासी विष्णुदेव सरदारका १६ वर्षीया छोरी आरती गत चैत ३० गतेदेखि बेपत्ता भएका थिए । उनको परिवारजनको जाहेरीका आधारमा खोजी गर्दा रौतहटको चन्द्रनिगाहपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्लाको कठौना बजारमा कपडा किन्न जान्छु भनी गत चैत ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्कंदा उनलाई खोजीका लागि प्रहरीमा जानकारी गराइएको आरतीको दाजु कृष्णाकुमारले दिनुभएको थियो । रासस