सप्तरी, १६ वैशाख : सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नगर उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेको वडाध्यक्षसहितको टोलीले जनप्रतिनिधिले जनताको काम रोकेको भन्दै तालाबन्दी गरेका हुन् ।
गत पुसदेखि निमित्त कार्यालय प्रमुख रहनुभएका चौधरीले व्यक्तिगत अपेक्षा पूरा नभएपछि जनताको काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वडा नं १ का वडाध्यक्ष नारायण आचार्यले बताउनुभयो । “काम नगरेकाले तालाबन्दी गरेका हौँ”, आचार्यले भन्नुभयो ।
नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं सरुवा भई अन्यत्र गएपछि शिक्षा शाखाका उपसचिव चौधरी निमित्त कार्यालय प्रमुख हुनुभएको थियो । वडा सदस्य जाहिर हुसेनका अनुसार चौधरी कार्यालय प्रमुख भएका बेलाका ३९ योजना र सम्झौता अधुरै छन् । प्रमुख प्रशासकीय अधिकृतका रुपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मीले पनि चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिदामा बस्नुभएको छ ।
रेग्मीले पुराना मितिका फाइल तत्कालीन निमित्त कार्यालय प्रमुखले सम्पन्न गर्नुपर्ने र आफू हाजिर भएपछिका फाइलको जिम्मेवारी मात्र आफूले लिने भन्दै बिदामा बसेको जनप्रतिनिधिको भनाइ छ । निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोवार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताउनुभयो । रासस