काठमाडौँ, १७ वैशाख : सरकारले ‘एक नेपाली एक फलफूल बिरुवा रोपण’ अभियानलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले अभियानलाई देशभरि नै सधँै निरन्तरता दिने निर्णय गरेको हो ।
नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन गत वर्ष विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा एभोकाडो र चिलीको बिरुवा रोपी अभियानको शुरुआत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अभियानको शुरुआत गरेसँगै सरकारले ७७ जिल्लामा रहेका सरकारी कार्यालयलाई अभियानअन्तर्गत फलफूलका विरुवा रोप्न निर्देशन दिनुभएको थियो ।
अभियानकै क्रममा २८ लाख ९० हजार ९१९ बिरुवा रोपिएका छन् । तीमध्ये २३ लाख १६ हजार ७३९ फलफूलका बिरुवा र पाँच लाख ७४ हजार १८० अन्य बिरुवा रोपिएका प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झवीन्द्र पाण्डेले जानकारी दिनुभयो । बैठकले मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन अन्य बिरुवाभन्दा पनि फलफूलका बिरुवा रोपण गर्ने कार्यलाई प्राथमिकतामा राख्ने उहाँले जानकारी गराउनुभयो । उहाँले यो वर्षदेखि सरकारी मात्र नभएर गैरसरकारी संस्थामा कार्यरत रहेका सबैलाई अभियानअन्तर्गत एक नेपाली एक बिरुवा रोपण अभियान सञ्चालन गर्न भनिएको बताउनुभयो ।
बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विश्वविद्यालय र विद्यालयमा रहेका खाली ठाउँमा समेत बिरुवा रोपणको निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘ती ठाउँका खाली जग्गामा कति कुन प्रकारका बिरुवा रोप्न सकिन्छ, हामीले माग गरेका छौँ”, उहाँले भन्नुभयो, “मागअनुसारका बिरुवा उपलब्ध गराएर ती खाली जग्गामा बिरुवा रोपिने छन् ।”
यसैगरी बैठकले कृषि तथा पशुपक्षी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका नर्सरीलाई पनि फलफूलका बिरुवा उत्पादन गर्न निर्देशन दिने निर्णय गरेको छ । अभियानअन्तर्गत देशभरि नै फलफूलका बिरुवा लगाउनुपर्ने भएकाले बिरुवा उत्पादन गर्न उक्त निर्णय गरिएको उहाँले जानकारी गराउनुभयो ।
यस्तै वन मन्त्रालयलाई ३० प्रतिशत फलफूलका बिरुवा उत्पादन गर्न निर्देशन दिइएको छ । गत वर्ष सबैभन्दा बढी लमजुङले चार लाख नौ हजार ९५३ र कम बैतडीले १८० बिरुवा रोपेका थिए । रोपिएका बिरुवाको संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कागती पाँच लाख चार हजार ४९४, अलैँची चार लाख ६९ हजार १५०, सुन्तला तीन लाख ३९ हजार ८३८, आँप दुई लाख ५९ हजार ३६५ र लिची ८८ हजार ६३४ बिरुवा देशभरि नै रोपिएका थिए ।