भक्तपुर, १७ वैशाख: पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको पाइलट बाबाआश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु बसपार्क पुग्ने सडक निर्माणको शिलान्यास भएको छ । सडक डिभिजन विभागबाट विनियोजित रु एक करोड ४० लाखको लागतमा निर्माण शुरु भएको उक्त सडकको आज प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले शिलान्यास गर्नुभयो ।
सडक शिलान्यास गर्दै उहाँले भक्तपुरका गाउँगाउँमा सडक सञ्जालले जोड्दै मानवीय आवश्यकता सडक, ढल, खानेपानी लगायतका विकासलाई तीव्रता दिने बताउनुभयो । नेकपा केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले पाइलट बाबा आश्रम, घ्याम्पे डाँडा, रानीकोट लगायतका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने योजना अनुरुप सडक विस्तारका कामलाई जोडिरहेको बताउनुभयो ।
घ्याम्पेडाँडा–रानीकोट सडकखण्डमा पनि रु पाँच करोडको लागतमा सडक विस्तार गर्न बोलपत्र प्रक्रिया सम्पन्न भई शिलान्यासको चरणमा रहेको बताउदै उहाँले विकासका हरेक क्रियाकलापमा स्थानीयवासीको सहयोग र समर्थनको खाँचो रहेको औँल्याउनुभयो । सूर्यविनायकमा निर्माण भइरहेको प्राणी उद्यान केन्द्रको छिटो निर्माण सम्पन्न गर्न वन मन्त्रीसँग आफूले छलफल गरिरहेको बताउदै उहाँले प्राणी उद्यान केन्द्रले सूर्यविनायकको मात्र नभइ भक्तपुरकै मुहार फेरिने दाबी गर्नुभयो ।
भक्तपुरको विकास निर्माण, ढल व्यवस्थापन, बाढीपहिरो रोकथाम, सडक दुर्घटना र सडक जामको न्यूनीकरण, करिडोर निर्माण, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रियसभा हल, खेलमैदान निर्माण तथा भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गराउने लक्ष्यसहित आफू अगाडि बढेको बताउनुभयो । नेकपा भक्तपुरका सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जनप्रतिनिधि आएपछि भक्तपुरको विकासमा फड्को मारेको बताउनुभयो ।
पाइलट बाबा आश्रमका संरक्षक डा रामप्रसाद पोखरेलले यो आश्रमलाई ट्रष्टमा लगेर यी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिलाई सम्मानसमेत गर्नुभयो । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सडक विस्तार गरी ग्राबेल गर्ने, ड्रेन र कुलो निर्माण गरिने भएको छ । रासस