काठमाडौँ, १८ वैशाख : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खरीद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधन’ बारे आयोजित कार्यक्रममा उहाँले निर्माण व्यवसायमा विकृति बढ्दै गएकाले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनुभयो । “गल्ती गर्ने कर्मचारीलाई अब कारवाही गरिन्छ”, उहाँले भन्नुभयो ।
मन्त्री महासेठले नेपाललाई समृद्ध बनाउने दायित्व निर्माण व्यवसायीकै भएको बताउँदै निर्माण क्षेत्रका लागि आवश्यक ऐन नियम संशोधन गरेर भए पनि व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद जीप छिरिङ लामाले व्यवसायी मैत्री ऐन कानून निर्माणमा सरकार लाग्नुपर्ने बताउँदै नल्याए चौतर्फी दबाब दिने बताउनुभयो ।
महासङ्घका अध्यक्ष रवी सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई मूर्त रुप दिन निर्माण व्यवसायी तयार रहेपनि अहिले अवस्थामा सहज तरिकाले निर्माण कार्य अघि बढाउन नसकिएको बताउनुभयो । भेलामा देशभरका ३०० भन्दा बढी निर्माण व्यवसायीको सहभागिता रहेको थियो । रासस