जलवायु परिवर्तनका असर बारे क्षेत्रीय सम्वाद आवश्यक : वनमन्त्री बस्नेत

admin

काठमाडौँ, १९ वैशाख: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विकासका रणनीति र योजनामा जलवायु परिवर्तनका असर र प्राकृतिक विपद् विषयमा क्षेत्रीय सहयोग बारे अर्थपूर्ण सम्वाद हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कतारको दोहामा भएको ‘एशिया कोपरेशन डाइलग’ (एसिडी)को १६ आँै सम्मेलनअन्तर्गत सदस्य राष्ट्रका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले अन्तरक्षेत्रीय पर्यटन र लगानीको प्रवद्र्धन तथा क्षेत्रीय सम्पर्क सञ्जालको महत्वका बारेमा आँैल्याउनुभएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।



‘प्रगतिमा साझेदारी’ मुख्य उद्देश्य रहेको मन्त्रिस्तरीय बैठकमा एसिडी मञ्चलाई सवल बनाउन र सदस्य राष्ट्रका सदस्यबीच सहयोग अभिवृद्धिका विभिन्न आयाममा छलफल भएको थियो । मन्त्री बस्नेतले नेपालमा विदेशी लगानीका विभिन्न मार्गका बारेमा प्रकाश पार्दै नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा भ्रमणका लागि निमन्त्रणासमेत गर्नुभएको थियो । सम्मेलनमा भाग लिन उहाँ मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

दोहा घोषणाले दिगो विकास, सम्पर्क सञ्जाल, साइबर सुरक्षा, पर्यटन र संस्कृतिको प्रवद्र्धन, स्वास्थ्य र खेलकूद क्षेत्रकोे विकास, जलवायु परिवर्तनका असर र प्राकृतिक विपद् न्यूनीकरणमा सामुहिक प्रयासलगायत विषयमा क्षेत्रीय सहयोग र सहकार्यलाई आत्मसात गरेको छ । सम्मेलनअन्तर्गत मङ्गलबार भएको सदस्य राष्ट्रहरुका वरिष्ठ पदाअधिकारीस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले गर्नुभएको थियो ।

सन् २००२ मा स्थापना भएको ‘एसिडी’ यस क्षेत्रको क्षेत्रीय सङ्गठन हो । एशियाली देशबीच एकता बढाउन स्थापना भएको यस सङ्गठनमा एशियाका ३४ राष्ट्र सदस्य छन् । नेपाल सन् २०१६ मा ‘एसिडी’को सदस्य बनेको हो । रासस

प्रतिक्रिया