सीप सिक्ने काममा थारू महिला अगाडि

admin

लम्की, २६ वैशाख: सीपमूलक कार्यमा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । सिलाइकटाइ, बुनाइ, पेन्टिङ, शृङ्गार, प्लम्बिङ, इलेक्ट्रिकल, कुकिङ, च्याउखेतीलगायत व्यवसाय गरेर आयआर्जन हुने सीपमूलक कार्यमा थारू समुदायका महिला बढी देखिने गरेका छन् । सीपमूलक तालीम या अन्य प्राविधिक शिक्षामा पनि थारू महिलाको आकर्षण बढेको देखिन्छ ।

फाइल फोटो

टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटका प्रमुख टेकेन्द्र थापाले इन्स्टिच्यूटमा सिकाइने सीपमूलक तालीममा महिला सहभागिता त्यसमा पनि थारू महिलाको सङ्ख्या धेरै रहेको बताउनुभयो । “सिलाइकटाइ, ब्यूटिसियन, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, तरकारी खेतीजस्ता तालीममा थारू समुदायका महिला बढी आएका छन् ।”

थापाले भन्नुभयो, “यस पटक विभिन्न किसिमका ५१ स्थानमा सीपमूलक तालीम सञ्चालनमा छन् जसमा ७० प्रतिशत थारू महिला सहभागी छन् । धेरै फाराम थारू महिलाले भरे र तिनै छनोट भए ।” थारू महिलाले सीप सिकेपछि व्यवसाय पनि गर्न थालेका छन् । उनीहरु सिकेको सीपलाई आयआर्जन हुने गरी सदुपयोग गर्छन् ।” उहाँका अनुसार सिलाइकटाइ र तरकारी खेतीसम्बन्धी तालीममा ९० प्रतिशत जति थारू महिला नै तालीम लिन आउँछन् । “सिलाइकटाइ धेरैले सिक्छन्, हामीकहाँ सधैँजसो सिलाइकटाइ तालीम चलिरहन्छ, थारू समुदायका महिलाले यही तालीम सिकेर व्यवसाय गरी राम्रो आयआर्जन गरिरहेका छन् ।” उहाँ भन्नुहुन्छ, “सीप सिक्ने र आम्दानी लिने ठाउंँमा थारू महिलाको मेहनत राम्रो छ । अन्य महिलाले भने काम गर्न अझै लजाउने गरेका छन् ।”

खाना पकाउने तालीम पाएपछि जोशीपुरकी सविता चौधरीले हाल होटल सञ्चालन गर्नुभएको छ । सविताले टीकापुर पोलिटेक्निक इन्स्च्यिूटले आयोजना गरेको तीनमहीने कुक तालीमपछि गाउँमै होटल सञ्चालन गर्नुभएको हो । “कुक तालीम दिइँदैछ भन्ने सूचना रेडियोमा सुनेपछि मलगायत तीन जना साथीले फाराम लगायाँै, तालीमपछि व्यवसाय गरौँ भन्ने लाग्यो । श्रीमान्सँग सल्लाह गरँे, गर भन्नुभयो, अनि व्यवसाय शुरु गरेँ”, सविताले भन्नुभयो, “तालीममा विभिन्न परिकार पकाउनका साथै अतिथि स्वागत र अन्य व्यवस्थापनका काम पनि सिकेकी छु ।”

टीकापुरकी अर्चना चौधरी १२ कक्षा उत्तीर्ण गरेर घरमै बसिरहनुभएको थियो । पोलिटेक्निकमा सिलाइकटाइ तालीम खुलेपछि तीन महीना सिक्नुभयो । अर्चनाले सीप सिकेपछि टीकापुरकै टेलर पसलमा मासिक रु दुई हजार तलब पाउने गरी काम थाल्नुभयो । यता काम गर्दै अर्चनाले स्तर २ अर्थात् सिलाइसम्बन्धी थप तालीम लिनुभयो । हाल अर्चनाले आफैँ पसल खोल्नुभएको छ । हाल पाँच अन्य महिलालाई पनि काम दिइएको अर्चनाले बताउनुभयो । “मेरो पसलमा महिलाका लुगा मात्र सिलाउँछु, महिलाको भीड हुन्छ, हाल महीनामा रु ३० हजारसम्म कमाइ हुन्छ ।” अर्चना मेहनत र लगाव भएमा सीपबाटै स्वरोजगार बन्न सहज रहेको बताउनुहुन्छ ।

उद्यमी प्रकाश तिमिल्सिना भन्नुहुन्छ, “अबको १० वर्षपछि आर्थिक क्षेत्रमा थारू महिलाको बाहुल्य हुनेछ ।” तिमिल्सिना आफ्नो महालक्ष्मी कपडा कारखानामा २० जना कामदार रहेकामा १६ थारू महिला रहेको बताउँदै भन्नुहुन्छ, “सीप नै धन हो । सीप भएको मानिस मात्रै आर्थिक रुपमा सशक्त हुनसक्छ, यो कुरा थारू महिलाले बुझेका छन् ।”

पोलिटेक्निकमा प्राविधिक शिक्षातर्फ पनि थारू समुदायका लागि दरबन्दी छुट्याइएको छ । कैलाली, बर्दिया र कञ्चनपुरका थारू विद्यार्थीका लागि प्रत्येक विषयमा दुइदुई दरबन्दी सुरक्षित छ । अझ प्रतिस्पर्धामा पनि थारू महिला बढी आउँछन् । पोलिटेक्निकमा बाली विज्ञान, पशु विज्ञान र डिप्लोमा इन इञ्जिनीयरिङ अध्ययनअध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया