मुलुकभर १६७० स्थानमा डढेलो, धेरै कैलालीमा

admin

काठमाडौँ, २६ वैशाख : पछिल्लो २४ घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ६७० स्थानमा डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ३५ जिल्लामा आगलागी भएको देखिएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा ४१७ स्थानमा वन डढेलो लागेको देखिएको छ ।



नासाको उक्त तस्बीरका आधारमा हेर्दा कञ्चनपुरमा १९१, डडेल्धुरमा १८८, दाङमा १७५, सुर्खेतमा १४६, बर्र्दियामा १३३, सल्यानमा १००, डोटीमा ६७, बाँकेमा ५५, अर्घाखाँचीमा ५० अछाममा ४१, प्यूठानमा २३, बैतडी र दैलेखमा १४÷१४, गुल्मीमा नौ, धादिङ र सिन्धुपाल्चोकमा सात÷सात स्थानमा डढेलो लागेको देखिएको छ । यसबाहेक अन्य जिल्लाका एक÷दुई स्थानमा डढेलो लागेको देखिन्छ ।

वन तथा वातावरण मन्त्रायलयका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माका अनुसार नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो । साथै ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । यस वर्ष सबैभन्दा बढी यसअघि वैशाख १६ गते एक हजार ८७१ स्थानमा डढेलो लागेको थियो ।

विगत वर्षको तुलनामा डढेलोका घटना बढिरहेको देखिए पनि यस वर्ष ठूलो क्षति भएको खबर प्राप्त नभएको उहाँले बताउनुभयो । डढेलोका घटनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित वन डिभिजन कार्यालयलाई खबर गर्नुका साथै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । यद्यपि डढेलोको प्रतिकार्यका लागि तीनै तहका सरकारसँग पर्याप्त उपकरण र जनशक्ति नभएको मन्त्रालयको स्वीकारोक्ति छ ।

जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा विश्वमै डढेलोका घटना बढेको डढेलो विज्ञ शर्माको भनाइ थियो । नेपालमा डढेलो नियन्त्रण सरकारको उच्च प्राथमिकतामा पनि पर्न नसकेको सरोकारावालाको भनाइ छ । यद्यपि मन्त्रालयले वन डढेलोबाट हुने क्षति रोक्न पहिलो पटक यस वर्ष सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना गरे पनि त्यो अझै पूर्ण सञ्चालनमा आइसकेको छैन ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा वन तथा भू–संरक्षण विभागमा स्थापना गर्न लागेको उक्त कक्ष सञ्चालनमा ल्याइने तयारी भईरकेको सो कक्षका सम्पर्क व्यक्ति शर्माले जानकारी दिनुभयो । नासाको स्याटलाइटले गुगलअर्थमा निरन्तर पठाउने डढेलोसम्बन्धी तस्वीर ९५ प्रतिशतभन्दा बढी विश्वासनीय हुन्छ । नासाको स्याटालाइटले जमीनमा कम्तीमा १०० मिटर ग्रिडसम्मको आगोको बारेमा मात्र सङ्केत दिने गर्छ । सानातिना आगो वा घरका छानाले ढाकेका आगो नदेखिन सक्छ ।

६४ प्रतिशत डढेलो जानीजानी
नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानीजानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको छ । नयाँ पालुवा आउने उद्देश्यले सुकेका पातमा आगो लगाउने गरिन्छ । तसर्थ यो जनताको जीविकोपार्जनसँग सम्बन्धित भएकाले यसमा वैकल्पिक व्यवस्थाका बारेमा सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । वन डढेलोले आगलागीको घेरामा परेर मानिसको मृत्यु हुने, धनसम्पत्ति, बस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा ठूलो असर पर्ने गरेको छ ।

प्रत्येक वर्ष चैत वैशाखको सुक्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको छ । वनमा नियतबस, अञ्जानमा र दुर्घटनाबस मानव सिर्जित कारणबाट हुने डढेलो मौसमको तापक्रम, भू–बनोट र वनस्पतिमा आधारित रहेर फैलिन्छ । डढेलोले सबै वनक्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरको बढी क्षति हुने गरेको छ । विगत एक दशकको तथ्याङ्क हेर्दा नेपालमा डढेलोबाट वार्षिक नौ जनाको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया