प्रहरी बढुवामा राजनीतिक दबाब, पोखरेल मालामाल

admin

काठमाडौँ, वैशाख २७ : गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। नागरिक दैनिकले समाचार छापेको छ । राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा निर्विकल्प रूपमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो।

अघिल्लो ब्याचलाई समेत उछिनेर सो बढुवा सिफारिस गरिएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ब्याचका वैकल्पिक रहेका एसएसपी वीरेन्द्र श्रेष्ठलाई समेत उछिनेर पोखरेललाई बढुवा सिफारिस गरिएको हो। खनाल २०४६ माघ २९ गते प्रहरी सेवामा भर्ना भएका थिए। त्यतिबेला वैकल्पिक उम्मेदवारका रूपमा श्रेष्ठसहित ठाकुरप्रसाद ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए।

ज्ञवाली, लम्साल र उपाध्याय यसअघि नै डिआइजीमा बढुवा भइसकेका छन्। त्यस चरणमा श्रेष्ठ मात्रै छुटेका थिए। त्यस्तै पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल पनि एसएसपी पोखरेलभन्दा वरिष्ठ हुन्। ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल नै वरिष्ठ भएका थिए।

२०७४ साउन १९ गतेको बढुवामा पोखरेलपछि प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की र उनका ब्याची धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र दिवेश लोहनी बढुवा भएका थिए। पोखरेल, सिंह, सुवेदी, लामा र लोहनी २०४९ चैत ११ गते प्रहरी संगठनमा प्रवेश गरेका थिए। अहिलेको बढुवा सिफारिसलाई हेर्ने हो भने आइजिपीपछिको संगठन प्रमुखमा पोखरेलको पनि दाबी हुने अवस्था आउँछ। तर उनीअघि ज्ञवाली, लम्साल र उपाध्यायको पाँच महिना सेवा अवधि बाँकी नै रहन्छ।

प्रहरी नियमावलीअनुसार २०७७ असार २५ गते मात्रै उनीहरूले अवकाश पाउनेछन्। उनीहरूपछि २०७५ असोज २८ गते डिआईजीमा बढुवा भएको टोलीले संगठन प्रमुख हुने अवसर पाउनेछ। डिआइजीहरू शैलेश थापा क्षेत्री, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीमध्ये एकजना संगठन प्रमुख हुनेछन्। त्यसपछि मात्रै हाल बढुवा सिफारिस भएका पोखरेलको पालो आउनेछ।

प्रतिक्रिया