सडकमा हाट बजार लाग्दा हैरानी

admin

जीतपुर, २७ वैशाख : कपिलवस्तुको पुरानो हाट बजार गजेहडा हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु पर्ने सर्बसाधारणले माग गरेका छन् । साताको एक दिन बिहिवार वाणगङ्गा नगरपालिकाको गजेहडामा लाग्ने हाटबजार सडकमै लाग्दा स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको छ । हाट बजार व्यवस्थित नहुदा सबैलाई समस्या देखिएको हो ।

सडकमै दैनिक उपभोग्य वस्तु, तरकारी, कपडा पसललगायतका सामाग्रीले सडक भरिएको हुन्छ । बजारको दिन सो स्थानमा सवारी चलाउन समेत मिल्दैन । गजेहडा वजारको सडकमै बजार लगाउँदा सवार गर्न निकै गाह्रो भएको स्थानीय मन्तु थारुले वताउनुभयो ।

बजार व्यवस्थित नहुँदा किनमेल गर्न असहज हुने गरेको सर्वसाधारणको भनाई छ । गजेहडा बजार व्यवस्थित नहुँदा सबैलाई गाह्रो भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बताउनुभयो । गजेहडा बजार विकास समितिका अध्यक्ष गोबिन्दप्रसाद ज्ञवालीले अब बजारलाई व्यवस्थित गरिने जानकारी दिनुभयो ।

बजार व्यवस्थित गर्नका लागि जनप्रतिनिधि सहितको सर्बपक्षिय भेला गरिएको र आगामी दिनमा सडकमा बजार नलगाउने, सडक भित्रको बजारमा कृषिजन्य सामग्रीको मात्र बजार राख्ने सहमती भएको उहाको भनाइ छ । नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले अब छिट्टै बजारको व्यवस्थापन गरिने बताउनुभयो ।


यसैगरी वाणगङ्गा–४ जीतपुर क्षेत्रका पसलको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तौलीहवाको समन्वयमा नगर क्षेत्रका विभिन्न पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांश पसल नविकरण नगरिएको, म्याद सकिएका समान राखिएका, पसलमा उपभोक्ता मुल्य सूची टाँस नगरिएको पाईएको छ । गरपालीकाका उपप्रमुख अर्यालको नेतृत्वमा भएको अनुगमन टोलीले बजार क्षेत्रका २२ पसलको अनुगमन गरेको थियो ।

प्रतिक्रिया