बालक अपहरण गरेको आरोपमा चार पक्राउ

admin

सप्तरी, २७ वैशाख: राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चारलाई पक्राउ गरेको छ । मामाको बिहेमा जन्ती गएका बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले रामअवतारलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अन्य तीन पक्राउ परेका हुन् । रामअवतारलगायतकाले बालकको अपहरण गरेको भन्दै बालकका बुबा जागेश्वर यादवले यही वैशाख १८ गते दिएको किटानी उजुरी दर्ता गरी रामअवतारलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनकै वयानका आधारमा अपहरणमा संलग्न सत्येन्द्र, जोगवीर र वीरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको राजगढ गाउँपालिका–३ नर्घोकी मनिषाकुमारी यादवसँग यही वैशाख १३ गते भइरहेको विवाहमा जन्ती आएका बेला अपहरणमा परेका बालकलाई प्रहरीले भारत विहारको सीतामढी कुम्भ सिवहरबाट १० दिन अघि सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया