गिट्टी कुटेर जीविकोपार्जन

कृष्ण रोकाया

मार्तडी, २८ वैशाख :साँफे–मार्तडी सडकखण्डको सदरमुकाम पुग्न अब तीन किलोमिटर मात्र बाँकी छ । सदरमुकामको नगरपालिका बडीमालिका –९ सेलाघाटमा वीरबहादुर थापाको झुप्रो घर रहेको छ । घरको छेउमा साँफे–मार्तडी सडकखण्ड पर्ने गर्छ । सोही सडकमा बसेर थापा दम्पती दैनिक गिट्टी कुट्ने, कुटेको गिट्टी बेच्दै जीविकोपार्जन गर्दै आउनुभएको छ ।

थापा दम्पतीको दिनचर्या गिट्टी कुट्नु हो । बिहान श्रीमतीले खाना बनाएपनि दिउँसो दुवै मिलेर गिट्टी कुट्नुहुन्छ । एक दिनमा एकले करीब चार कट्टा गिट्टी कुट्ने गरेको थापाले बताउनुभयो । दिनभरि दुई दम्पती मिलेर आठ कट्टासम्म गिट्टी बनाउनुहुन्छ । खटिएर लाग्यो भने प्रतिदिन करीब ८०० सम्म आम्दानी हुने थापाले बताउनुभयो ।

“ दिनभरि खटिएर मेहेनत ग¥यो भने आठ कट्टा जति गिट्टी कुट्न सकिन्छ र दिनभरि गिट्टी कुट्दा हातमा फोका उठ्छन्, सधँै सकिँदैन”, श्रीमती बिउरा थापाले भन्नुभयो ।”

“सिंहदरबार गाउँगाउँमा आयो भन्छन्, खै कस्तो हुन्छ हामीलाई थाहा छैन, हामीजस्तालाई जे आए नि के छ र”, थापाले दुःखी हुँदै भन्नुभयो । वडा कार्यालय भइसकेपछि वडा कार्यलय कहाँ छ र त्यसले के छ भन्नेबारे जानकारी नभएको उहाँहरुको भनाइ थियो । अहिलेसम्म नगर र वडाले प्रदान गर्ने सेवाको बारेमा आफूलाई कुनै जानकारी नै नभएको थापाले बताउनुभयो । “हामीले मजदुरी काम गरेको धेरै वर्षपछि स्थानीयस्तरमै सरकार आयो तर हामी मजदुरको केही फेरिएन” वीरबहादुरकी श्रीमतीले भन्नुभयो ।

उहाँका दम्पती मात्र होइनन्, जिल्लाका कतिपय महिला र पुरुष गिट्टी कुट्दै जीविकोपार्जन गर्दै आएका छन् । आर्थिक अभावका कारण घरायसी खर्च चलाउनका लागि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएको बुढीगङ्गा नगरपालिका–३ की धनदेवी रौलेले बताउनुभयो ।

खेती गर्दा छ महीना नपुग्दै खाद्यान्न अभाव हुने भएकाले गिट्टीको भारी बोकेर खर्च जुटाउने गरेको रौलेले बताउनुभयो । श्रीमान् भारतमा कमाउन गएको भएपनि साहुको ऋण तिर्न ठिक्क हुने भएकाले आफूले घरायसी खर्च चलाउनका लागि गिट्टी कुट्ने गरेको रौलेको भनाइ थियो ।

जिल्लामा कतिपय बालबालिकासमेत बिहान, बेलुका र शनिबारका दिन गिट्टी कुटेरै कापी कलमको जोहो गर्ने गरेका छन् । उनीहरुलाई हप्ताभरि स्कूल गइसकेपछि लेख्न र पढ्नका लागि के को आवश्यकता हुन्छ महसुस हुन्छ र शनिबारको दिन पर्खिरहेका हुन्छन् । अनि शनिबार बिहान सबेरै उठेर गिट्टी कुट्न ।

जिल्लाको बडीमालिका नगरपालिका–९ सेलाघाटका कतिपय बालबालिकाको दिनचर्या नै गिट्टी कुट्ने भइसकेको छ । उनीहरु विद्यालय सञ्चालन भएको दिन बिहान र बेलुकी विद्यालयबाट फर्किएर गिट्टी कुट्ने गरेका छन् ।

तीमध्येका एक हुन् सेलाघाटका ११ वर्षीय बालक मनोज थापा । उनले दिनभरि गिट्टी कुटेर दुई कट्टा बनाउँछन् । उनी सदरमुकाममा रहेको मालिका माध्यामिक विद्यालयमा अध्ययन गर्दछन् । गिट्टी उनको घर नजिकै रहेको बिजुली पावरहाउसमा लिने गरेका छन् । प्रतिकट्टा रु ६० का दरले उनले गिट्टी बेच्ने गरेका छन् । शनिबारको बिहानैदेखि बेलुकासम्म आफूले रु १२० कमाउने गरेको बालकले बताए ।

उनले आँखाभरि आँशु पार्दै भने, “हप्ताभरि एक दिन मात्र बिदा हुन्छ, हामीलाई पनि रमाइलो गर्न मन त थियो तर के गर्नु भोलि स्कूलमा कापी, कलम चाहिन्छ ।” अर्का बालक हिमाल थापा पनि नजिकै रहेको मालिका माविमा कक्षा ६ मा पढ्छन् । उनको दिनचर्या पनि यस्तै रहेको छ । अरु दिन बिहान र बेलुका र शनिबारको दिन गिट्टी कुटेरै कापी कलमको जोहो गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया