१० दिनदेखि सम्पर्कविहीन पौडेल मृत फेला

admin

पर्वत, २८ वैशाख : १० दिनदेखि बेपत्ता रहेका पर्वतको कुस्मा नगरपालिका-९, कटुवाचौपारीका केशव पौडेल मृत अवस्थामा फेला परेका छन्। उनी कुस्मा ज्ञादी आउजाउ मोदी नदीमाथिको झोलुंगे पुलको केही पर चण्डीका सशस्त्र प्रहरी बलको गण रहेको वनको तल पर्ने मेबौर भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन्। 

मृतक केशवका दाजु वासुदेव पौडेलका अनुसार उनको मृत्यु भिरबाट खसेर भएको हो? वा कसैले हत्या गरेर फालेको हो? भन्ने बारेमा केही पनि खुल्न सकेको छैन। घटनास्थलको प्रकृति हेर्दा शव भेटिएको स्थानभन्दा माथि रहेको झन्डै एक सय मिटरको उचाइबाट भिरबाट खसेको र रुखका हाँगाहरू भाँचिएको देखिएको छ। घटनास्थलको नजिकै उनले बोक्ने गरेको झोला पनि फेला परेको छ।

मृतक केशवको शव सडेको अवस्थामा फेला परेको र उनले लगाएका लुगा, जुत्ता, नजिकै भेटिएको फोनको आधारमा पहिचान गरिएको हो। उनको मृत्यु कसरी भएको हो? भन्नेबारेमा अनुसन्धान भइरहेको पोस्टमार्टमपछि मात्र त्यो कुरा पुष्टि हुने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। केशव गएको वैशाख १९ गते राति सदरमुकाम कुस्मा बजारबाट बेपत्ता भएका थिए। सोही राति १२ बजेको समयमा श्रीमतीसँग फोनमा कुरा गरेका उनी त्यसपछि सम्पर्कविहीन बनेका थिए।

प्रतिक्रिया