खुल्ला मञ्च कब्जा गरेर बेच्ने भेटवाल टाँट पल्टिने अवस्थामा पुगे, काठमाडौं भ्युटावर निर्माण अनिश्चित

admin

काठमाडौं, बैशाख २९ : मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको ‘भ्युटावर’ बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी फिर्ता मागेका छन् । बिकोई त्यही ठेकेदार कम्पनी हो, जसले खुलामञ्चमा अवैध सटर बनाई साना व्यापारीलाई भाडामा लगाएको थियो ।

पोखराका धीरज गुरुङमार्फत सिंगापुरका दुई सय ८० जना अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले लगानी गर्ने भएका थिए । उनीहरूलाई कम्पनीको ४९ प्रतिशत सेयर दिनेगरी सम्झौता भयो । त्यसका लागि गोरखा सैनिकले पहिलो किस्ताबापत २४ करोड रुपैयाँ कम्पनीको बैंक खातामा हालिदिए । रकम हात पर्नेबित्तिकै बिकोईले लगानीकर्तासँग विवाद झिक्यो । विवाद बढ्दै गएपछि गोर्खा सैनिकले लगानी फिर्ता मागे । बिकोईले २० जेठको भाकामा नोयल अमेल कम्पनीको नाममा २४ करोड रुपैयाँको चेक काटेको छ ।

भ्यू टावर निर्माण पाँच वर्षमा सक्नुपर्ने सम्झौता छ । चार वर्षमा एक प्रतिशत काम पनि भएको छैन । महानगरले टावर अलपत्र पर्ने अवस्थामा पनि तत्काल केही गर्न नसकिने बताएको छ । ‘कन्सल्टेन्सी आएर प्राविधिक मूल्यांकन गर्छ । अनि मात्रै हामी केही गर्न सक्छौँ,’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘तत्काल एक्सन लिने अवस्था छैन र लिँदैनौँ पनि ।’

प्रतिक्रिया