खेतबारी बाँझै राख्ने स्थिति रहनुहुँदैनः उपप्रम पोखरेल

कृष्ण रोकाया

ककनी, ६ जेठ:उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा जोड दिनुभएको छ ।

पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तेस्रो दिन आज प्रदर्शनीस्थल नुवाकोटको ककनी गाउँपालिका ४, रानीपौवामा आयोजित सभामा उपप्रधानमन्त्री पोखरेलले कोदो र फापर पनि किनेर ल्याउनुपर्ने र खेतबारी बाँझै राख्ने स्थिति रहनुहुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “आफ्ना विचारका आधारमा जनतामा गएर विश्वास जितेर राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा आउने बाटो सबैलाई खुला छ । विचारका आधारमा कोही दण्डित हुनुपर्ने छैन । त्यसैले अब आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र व्यक्तिहरु लाग्नुपर्छ ।”

रक्षामन्त्री पोखरेलले जनता सुखी भएनन् भने क्रान्तिकारी विचार बोक्नाको कुनै अर्थ नरहेको उल्लेख गर्दै भन्नुभयो, “जुनसुकै पार्टीमा लागे पनि देशलाई धनी बनाउने र जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्छ । यसका लागि हामी काँग्रेससँग पनि सहकार्य गर्न चाहन्छौँ । विकासनिर्माणमा हातेमालो गर्न चाहन्छौँ । अहिले देशले खोजेको यही हो ।”

उहाँले पासाङ्ल्हामू राजमार्गको दुर्दशा अन्त्यका लागि सार्वजनिक खरीद ऐन परिवर्तन गरेर बेथितिको अन्त्य गरिने जनाउनुभयो । मन्त्री पोरखरेलले भन्नुभयो, “राजनीतिको छाला ओढेर साँढे बनेर हिँडिरहेका केही ठेकेदारहरुले जनतामाथि मनमरी गरिरहेका छन् । यसको संरक्षण हुँदैन । तिनीहरु दण्डित हुँदैछन् ।” बोगटी स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेका अनुसार प्रदर्शनीमा जिल्लाका १२ वटै स्थानीय तहका कृषि उत्पादन र आधुनिक उपकरण राखिएको छ । रासस

प्रतिक्रिया