पाँचथर सामूहिक हत्या प्रकरण : शंकाको घेराउमा परेका ज्वाइँ झुण्डिएको अवस्थामा मृत फेला

रिता घिसिंग

पाँचथर : पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीको अनुसन्धानमा संदिग्ध व्यक्तिको रुपमा देखाएका मृतक परिवारका ज्वाई मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । पछिल्लो समय माखिमका श्रीमतीले उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्। घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै रहेको बताएका छन्।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्य मारेको बयान दिएकी थिइन्। प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन्।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ । प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा टोली खटाएको छ ।

प्रतिक्रिया