मच्छिन्द्रनाथको भोटो जेठ २६ गते देखाइने, यस्तो छ भोटो जात्राको कथा

admin

काठमाडौँ, ९ जेठ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ २६ गते देखाइने भएको छ । आज बिहान चार जना जोशी समुदायका ज्योतिषीले मच्छिन्द्रनाथलाई जाउलाखेल लाने शुभसाइत हेरी जेठ २३ गते बिहीबार लगनखेलबाट रथ तानी जाउलाखेल पु¥याइने र त्यसको चार दिनपछि भोटो देखाउने निर्णय गरेको ज्योतिषी सिद्धिकिरण जोशीले जानकारी दिनुभयो ।

फाइल फोटो

पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथ हाल लगनखेलको इटिटोलमा राखिएको छ । “लगनखेलबाट जावलाखेल रथ तान्नका लागि जोशी गुरुहरुले शुभसाइत हेरिसक्याँै”, जोशीले भन्नुभयो, “ बुधबार साँझमा रथबाट एउटा काँचो नरिवाल खसाली त्यहाँबाट बिदा माग्ने चलन रहेको छ ।” जेठ २३ गते सात गाउँ कीर्तिपुर, पाँगा, बलम्बु, मच्छेगाउँ, सतुङ्गल, थानकोट र पुल्चोकका मानिस आएर लगनखेलबाट रथ तानी जावलाखेल पु¥याइने बताइएको छ ।

जेठ २४ गते छोलेपु पर्व मनाई मासु पोलेर खाई जात्रा मनाइन्छ । छोलेपुको भोलिपल्ट २५ गते भुज्या पर्व मनाइन्छ । भुज्याको भोलिपल्ट अर्थात् भोटो देखाइने अघिल्लो दिन अर्काे पटक पुनः नरिवल खसाल्ने परम्परा रहेको ७० वर्षीय ञँवाल सूर्यमान डङगोलले जानकारी दिनुभयो ।

भोटो जात्राको कथा
भोटो जात्रामा काठमाडौँमा रहेका सबै मानिसलगायत देशको उच्च पदाधिकारी भोटो हेर्न सहभागी हुनेछन् । विसं २००८ देखि भोटो देखाउने चलन चल्दैआएको हो । जात्रामा मनुष्य लगायत देव, दैत्य, भूत, प्रेत, पिशाच, गन्धर्व, किन्नर, नाग र गरुडसमेत उपस्थित हुने मान्यता छ । किंवदन्तीअनुसार पाटनका राजा वरदेवको शासनकालमा कर्काेटक नागराजाकी रानीको आँखा दुखेछ । रानीको आँखा अनेक उपाय गर्दा पनि निको नभएपछि आँखाको उपचार गर्ने वैद्या खोज्दै नागराजा हिँडेछन् । राजा कर्काेट नागले खेत खनिरहेका एक किसानलाई “तिमीलाई आँखाको उपचार गर्न आउँछ” भनी सोधेछन् । किसानले नसक्ने बताए पनि कर्काेटकले टौदह लगी पोखरीको दरबारमा छिराएछन् ।

ती किसानले रोग निको पार्ने तरिका नजाने पनि शरीरबाट मयल निकाली रानीको आँखा निको गराइदिए । त्यही खुशीमा राजा कर्काेट नागले किसानलाई उपहार माग्न भनेछन् । उपहारका रुपमा किसानले नागराजले राखेको मणिजडित भोटो मागेछ । किसानले त्यो भोटो लिएर पुनः खेत खन्न गएछन् । फुकालेर खेतमा राखेको भोटा भूतले लिई भागेछ ।

समयसँगै मच्छिन्द्रनाथको रथजात्रा चल्दै गएछ । जात्रा हेर्न भुत त्यो भोटो लगाएर जाउलाखेल आएछ । किसानले भोटो देखी त्यो आफ्नो भोटो भनेछ । भुतले हैन मेरो हो भन्दा भन्दै ठूलो झगडा भएछ । कर्काेटक नागराजा पनि त्यहीँ जात्रा हेर्न आएका रहेछन् । उनले त्यो भोटो आफूले किसानलाई दिएको बताउँदा पनि भुतले मानेनछ । तिनीहरु तीनैबीच झगडा भएपछि राजा वरदेवले त्यो कुरा सुनेछन् । राजाले तीनै जनाको विवाद मिलाउन नसकी प्रमाणसहित आउन आग्रह गरेछन् । त्यसै बेलादेखि “यो कसको भोटो हो” भनी चारै दिशा फर्काएर भोटो देखाउने परम्परा रहेको किंवदन्तीमा उल्लेख छ ।

मच्छिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । चैत पूर्णिमाको दिन विधिवत् पूजा गरिएको भोलिपल्ट रथ निर्माणको शुभारम्भ गरी वैशाख पूर्णिमासम्ममा समाप्त गरिएको थियो । पुल्चोकबाट मच्छिन्द्रनाथ रथजात्रा शुरु भई जावलाखेलमा भोटो जात्रा देखाउने चलन परापूर्वकालदेखि चल्दै आएको हो । यस वर्ष वैशाख २५ साँझमा मच्छिन्द्रनाथको रथ तानिएको थियो ।

रथ तानेको पहिलो दिन मच्छिन्द्रनाथलाई पाटनको गाःबहाल, सुन्धारा, लगनखेल लगी महाबलि दिइयो । यस वर्ष लगनखेल लगेपछि ५५ वर्षीय ञँवाल प्रेम डंगोलले नरिवाल खसालेका थिए । यस वर्ष नरिवल खसालिएको भोलिपल्ट सयौँको महिलाले रथ ताने जसलाई नेवारी भाषामा ‘याक मिसा भुजा’ पर्व भनिन्छ । याक मिसा भुजा’ पर्व सम्पन्न भएको २० दिनपछि रथलाई जावलाखेल लग्न लागिएको हो । रथलाई इटिटोल हुँदै मानभवन, कुमारीपाटी हुँदै जावलाखेल लगिन्छ । रासस

प्रतिक्रिया