गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा

रिता घिसिंग

काठमाडौँ, १० जेठ : देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ । स्तम्भको नक्साको ढाँचा सबै तयार भए पनि बजेटको सुनिश्चित नहुँदा स्तम्भ निर्माण अन्योलमा रहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले राससलाई जानकारी दिनुभयो । स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौँ महानगरपालिका–१४ गाङ्खेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ । सहमतिबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ ।

स्तम्भ निर्मााणका लागि जग्गा विवाद भएको भनी केही पक्षले प्रचार गरे पनि विवाद नरहेको काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले बताउनुभयो । स्थानीय तहको निर्वाचन हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय सहमतिका आधारमा सो स्थान छनोट गरिएको उहाँले जानकारी दिनुभयो । स्तम्भ ९४ मिटर उचाइको हुने डिजाइन भएको छ । यसअघि १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा ढाँचा परिवर्तन गरी ९४ मिटरमा झारिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर महर्जनले बताउनुभयो ।

स्तम्भसँगै निर्माण गरिएको गणतन्त्र स्मारक भने निर्माण भइसकेको छ । स्मारक गणतन्त्र दिवसका दिन जेठ १५ गते बेलुकी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु हुनेछ । नारायणहिटी दरबारको उत्तरपूर्वी भागमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा स्मारक निर्माण भएको छ । रासस

प्रतिक्रिया