‘जनताको हितमा काम भएन’ :उप–सभापति निधि

admin

राजविराज, १० जेठ : नेपाली काङ्ग्रेसका उप–सभापति विमलेन्द्र निधिले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ । काङ्ग्रेस क्षेत्रीय कार्यसमिति–४ द्वारा आज सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा आयोजना गरिएको जागरण अभियानमा उहाँले वर्तमान सरकारले मधेश र पहाड दुवै क्षेत्रका लागि केही गर्न नसकेको आरोप लगाउनुभयो ।


उप–सभापति निधिले मधेश, तराई, पहाड र हिमालका जनताको सुखदुःख बुझ्ने एकमात्र पार्टी काङ्ग्रेस भएको दाबी गर्नुभयो । पछिल्लो चुनावमा पराजय ब्यहोर्नुपरेको बदला काङ्ग्रेसले अब आउने चुनावमा लिनुपर्ने उहाँको भनाइ थियो । काङ्ग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले काङ्ग्रेसले नै मधेशको माग अनुसार संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस नेता महेन्द्र यादवले आफूलाई मधेशवादी भन्ने दलहरु सत्तामा जान मात्र राजनीति गरिरहेको आरोप लगाउनुभयो । रासस

प्रतिक्रिया