कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद : नेता श्रेष्ठ

admin

भक्तपुर, ११ जेठ: नेकपाका नेता नारायणकाजी श्रेष्ठले दुईतिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको आज समापन कार्यक्रममा बोल्दै उहाँले माक्र्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले कम्युनिष्ट नेतृत्वबाटै नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताउँदै हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने भनाइ राख्नुभयो ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । मन्त्री थापामगरले यो सरकारले जनताको मन र भावना जितेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा नेताहरु बलराम बाँस्कोटा, सोम मिश्रलगायतले मदन भण्डारी एशियाली विद्यालय कम्युनिष्ट नीति, दर्शन र सिद्धान्त पढ्न, बुझ्न र जान्न पाउने अवसरका रुपमा स्थापना भएको बताउनुभयो । तालीममा सहभागी प्रशिक्षार्थीले विद्यालयबाट माक्र्सवाद र समाजवादी सिद्धान्तका साथै त्यसको प्रयोगका बारेमा उत्कृष्ट अनुभव र ज्ञान हासिल भएको धारणा राख्नुभयो ।तालीममा ब्राजिल, चीन, मोरक्को, मलेशिया, अर्जेन्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिकालगायत १४ मुलुकका ५० जना सहभागी रहेका थिए ।

सरकार कुनै कुरामा सम्झौता नगरी अगाडि बढेको छ ः प्रदेश इन्चार्ज शाक्य
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले जनताको चाहना र देशको समृद्धिका लागि सरकार कुनै कुरामा सम्झौता नगरी अगाडि बढेको बताउनुभएको छ । आज भक्तपुरमा नेकपा जिल्ला कमिटीका १४५ सदस्यलाई शपथ खुवाउँदै उहाँले सरकारको अभियान र देशको समृद्धिका लागि नेकपाका नवगठित जिल्ला कमिटीले कुनै द्वेष तथा पूर्वाग्रह नराखी पार्टीलाई मजबुद बनाउने गरी एकताबद्ध रुपमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु नारायण दाहाल, आनन्द पोखरेल, महेश बस्नेत, दिलीप प्रजापति, सोम मिश्र, देवी ज्ञवालीलगायतले नेकपाको एकता र उपलब्धिलाई विश्वमा नमूनाको रुपमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।रासस

प्रतिक्रिया